काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ‘इमर्जिङ लिडर-२०२४’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यार्थी उद्मीलाई सम्मान गर्ने उद्देश्यले एनवाईईएफ काठमाडौं च्याप्टरले इमर्जिङ लिडर कार्यक्रम आयोजना गर्न लागेको हो ।
विद्यार्थी उद्यमीलाई प्रोत्साहन र हौसला प्रदान गर्न इमर्जिङ लिडर आयोजना गर्न लागेको एनवाईईएफ काठमाडौं च्याप्टरकी अध्यक्ष प्रार्थना शाखले बताए । उनले भने,‘हाम्रो उद्देश्य भनेकै उदयमशीलतालाई प्रवर्द्धन गर्ने हो । त्यसै अनुसार उद्यमशीलताको क्षेत्रमा उत्कृष्ट काम गरिरहेका विद्यार्थीलाई सम्मान गर्दैछौं ।’
इमर्जिङ लिडरका लागि विद्यार्थी कालमै उद्यमशीलताको क्षेत्रमा उत्कृष्ट काम गरिरहेका उद्यमीले आवेदन दिन सक्ने छन् । आवेदन, उद्यमी स्वंय आफैले वा अरूले पनि दिन सकिने एनवाईईएफले जनाएको छ । इमर्जिङ लिडरका लागि आवेदन दिन नोमिनी ३० वर्षभन्दा कम उमेरको नेपालमा आधारित विद्यार्थी हुनुपर्नेछ भने एनवाईईएफको पार्ट नभएको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ ।
इमर्जिङ लिडरका लागि आवेदन खुला भइसकेको छ । यहाँ क्लिक (https://nyefktm.org.np/emerging-leaders/) गरेर इमर्जिङ लिडरका लागि असार २ गतेसम्म आवेदन दिन सकिने छ । प्राप्त आवेदन मध्येबाट सूचना प्रविधि, सामाजिक प्रभाव, शिक्षा, ई(कमर्स र रिटेल, दिगो, वातावरण र कृषि गरेर पाँच विधामा १० जनालाई इमर्जिङ लिडरको रूपमा सम्मान गरिने एनवाईईएफले जनाएको छ ।
प्रत्येक विधाबाट २ जनालाई सम्मान गरिने छ । प्राप्त आवेदनको आधारमा निर्णायकहरूले उत्कृष्ट विद्यार्थी उद्यमीको छनौट गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्