मोरङ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले सशक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस तत्काल सरकार बनाउने कसरतमा नलागेको बताएका हुन् ।
“एमाले वा माओवादी केन्द्रसँग मिलेर सरकार बनाउने कुनै सोच छैन, यसका लागि प्रयास, संवाद र छलफल पनि भएका छनन्”, उनले भने । उनले पार्टी सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र र एमालेका नेतृत्वसँग शान्तिप्रक्रियाका बाँकी काम टुङ्याउने र संविधान कार्यान्वयन र सङ्घीय गणतन्त्रलाई बलियो बनाउने विषयमा छलफल भइरहेको बताए ।
उनले कांग्रेस दलीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएको चर्चा गर्दै संसद्मा अन्य पार्टीको विरोध गर्ने अधिकारलाई पनि सम्मान गर्ने बताए । उनले असारको तेस्रो हप्तासम्म पार्टीभित्र थाँती रहेका भातृ एवं वर्गीय सङ्गठनका महाधिवेशन सम्पन्न गरी सहमतिमा नेतृत्व टुङ्गो लगाउने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्