काठमाडौं । ‘सीप मेला’बाट प्रशिक्षण पाएका जनशक्तिलाई रोजगारदातासँग भेट गराउन काठमाडौं महानगरपालिकाले आज टुँडिखेलमा ‘रोजगार मेला’ आयोजना गरेको छ । प्रशिक्षणका क्रममा सिकेका सीप र यसबाट प्राप्त दक्षताबाट उत्पादित वस्तु तथा सामग्री मेलामा राखिएका छन् ।
कामपाको सहरी योजना आयोगका सदस्य एवं सीप मेला निर्देशक समितिका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार टुँडिखेलमा हरेक विधासँग सम्बन्धित प्रदर्शनीस्थल राखिएका छन् । सामग्री उत्पादन नहुने खालका सीपको बारेमा ‘भिडियो डिस्प्ले’ र आपसी कुराकानीका आधारमा समन्वय हुने उनले बताए । यससँगै पेसासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिको नाम, सम्पर्क नम्बर र उनीहरुले तालिम लिएको पाठ्यक्रम समेत राखिएको छ ।
रोजगारदाताले यो बोर्डबाट आफूलाई आवश्यक पर्ने जनशक्तिका बारेमा जानकारी लिन सक्नेछन् । यससँगै सम्बन्धितस्थलबाट आफूलाई आवश्यक पर्ने जनशक्तिसँग सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ । गत वैशाख १९ गतेदेखि टुँडिखेलमा १० वटा विधाका ३० वटा पेसासँग सम्बन्धित तालिम सुरु गरिएको थियो ।
पन्ध्र र ३० दिन अवधिका तालिमबाट दुई हजार सात सय १५ प्रशिक्षार्थीले तालिम लिएका थिए । तालिम संयोजक देवेन्द्र केसीका अनुसार सबैभन्दा धेरै सूचना तथा सञ्चार प्रविधि क्षेत्रबाट छ सय ३९ जनाले प्रशिक्षण प्राप्त गरेका छन् । १५ दिन अवधिको तालिममा डिजिटल मार्केटिङ्, कम्प्युटर हार्डवेयर, सिसिटिभी र मोबाइल मर्मत पेसा थिए उनले भने ‘ब्यूटिसियन विधामा पाँच सय ८० जनाले तालिम लिनुभएको छ । यसमा नेलआर्ट, मेकअप, आइलेस, हेयर कट र सैलुन पेसाको तालिम भएको थियो ।’
वेकरी, फास्टफुड, बारिस्ता, बार टेन्डिङ् र वेटर÷वेट्रेसमा पाँच सय ३१ प्रशिक्षित छन् । कामपाले गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौंको समृृद्धि’ अन्तर्गत सीप मेला सुरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्