Shikhar Insurance
National Life

भेडापालनबाट वार्षिक ४० लाख आम्दानी गर्दै बागलुङ घर्ती

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २३, बुधबार १३:०७
Hyundai
NCELL
NIMB

बागलुङ । यतिबेला भेडापालक किसान ढोरपाटनको बुकी उक्लने तरखरमा छन् । बागलुङसहित रोल्पा, रुकुम, म्याग्दी र प्युठानका भेडा चरिचरनका लागि बुकीतर्फ हिँडिरहेका हुन् ।

यसपटक सात सय भेडा लिएर बुकीतर्फ हिँडिररहेका रोल्पा जिल्लाको थवाङ गाउँपालिका–४ तेलखोलाका सन्तोष घर्ती भेडा चराउँदै बागलुङ आएका छन् । भेडापालनमा धेरै दुःख भएको जनाउँदै भेडा पाल्न छाड्ने क्रम बढिरहेको सन्दर्भमा घर्तीले यसबाट भएको आम्दानीले परिवार पाल्दै राम्रो शिक्षा दिन सफल भएको बताए । उनले भेडापालनमा आफू सन्तुष्ट भएको भन्दै वार्षिक ४० लाख आम्दानी गर्न सफल भएको जानकारी गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बागलुङको निसीखोला गाउँपालिकाको रिग चरन क्षेत्रमा भेडा चराइरहनुभएका घर्तीले वार्षिक ४० लाख आम्दानीले आफ्नो परिवारलाई दाङको तुलसीपुर पढाउँदै आएको बताए । परम्परा धान्नमात्रै भेडापालेर भएन, भेडा लिएर बुकी जान थालेको १८ वर्ष भयो, सानै उमेरबाट भेडापालनमा लागेँ, छोराछोरीलाई मलाई जस्तो दुःख नहोस् भनेर भेडापालनलाई व्यावसायिक बनाउन थालेको छु, दुई सय भेडाले घरखर्च चल्दैन, त्यसैले सात सय पाल्न थालेको हुँ घर्तीले भने ‘भेडापालनमा दुःख छ भन्दैमा छाड्न कहाँ सकिन्छ र पुर्खाको पेसा, तीन छोरी र दुई छोरलाई दाङ लगेर पढाएको छु, उनीहरूको खर्च धान्न भेडा पाल्नैपर्छ ।’

भदौको अन्तिममा फर्कने तयारीसहित बन्दोबस्तीका सामग्री बोकेर जेठको दोस्रो हप्ता घरबाट बुकीतर्फ हिँडेको बताउँदै घर्तीले घरमा भन्दा जङ्गलमा बढी बसाइ हुने बताए । आफ्नो त घरमा भन्दा बढी जङ्गलको बास हुन्छ, आम्दानी राम्रो भए पनि भेडापालन निकै जोखिमको पेसा हो, राम्रो पढाइ गर्न सकिएन, ४५ वर्षको पुगियो आफ्नो त जिन्दगी भेडा पालेरै बित्नेभयो उनले भने । छोराछोरीले राम्रो पढे भने मलाई केही चाहिन्न, भेडापालनबाटे खान, लाउन र शिक्षादीक्षा दिएर वर्षमा आठ–दश लाख बचतसमेत हुने गरेको उनले बताए ।

रिगताल वरपरबाट आफू बुकी उक्लन थालेको बताउँदै चिसो याममा मात्रै भेडालाई घर फर्काउने बताए । भेडालाई जङ्गली जनवार र रोगबाट जोगाउन सकेमात्रै नाफा हुने बताउँदै गोठालो खर्च र भेडाको हेरचाहमा समेत वार्षिक कमाइको आधा खर्च हुने उनले बताए ।

सात सय भेडाबाट एक वर्षमा चार सय नयाँ पाठापाठी जन्मने गरेको घर्तीले सुनाए । एउटालाई सरदरमा न्यूनतम १० हजारमा बिक्री भए पनि चार सय पाठापाठीको ४० लाख रहेको बताए । पाठीको मूल्य सस्तो भए पनि पाठाको धेरै छ । विशेषगरी मासुसँगै भेडाका पाठापाठी पूजाआजाका लागि धेरै प्रयोगमा आउने गरेको छ ।

भदौमा एकपटक झरेपछि पुनः मङ्सिरसम्म बुकी क्षेत्रमै भेडापालन गरेर बसिन्छ, हिउँ पर्न थालेपछि मात्रै भेडा बेँसी झारिन्छ उनले जानकारी गरे । बुकी क्षेत्रमा बागलुङ, म्याग्दी, रोल्पा, प्युठान र रुकुमका हजारौँ भेडा पुग्ने गरेका छन् । उपयुक्त चरिचरनको वातावारण, पोषणयुक्त घाँसका कारण परम्पराकालदेखि नै भेडा चराउन बुकी लगिँदै आएको भेडापालक किसान कमरा घर्तीमगरले बताए । भेडापालनको दुःख भने भनिसाध्य छैन, घर्तीमगर बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्