Shikhar Insurance
National Life

‘उद्देश्य र योजना राम्रो भए पनि कार्यान्वयन नहुँदा जटिलता आउने गरेको छ’

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २०, आईतवार १६:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको बजेटको पक्ष र विपक्षमा आफ्नो धारणा राख्यका छन् । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेका ‘आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्तावमाथि छलफलमा भाग लिँदै उहाँहरुले विशेष गरी कार्यान्वयनको पाटोलाई विशेष ध्यान दिन आग्रह गरेका हुन् ।

सांसद झक्कुप्रसाद सुवेदीले कृषि क्षेत्र, भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको तथ्य पेस गर्दै बजेटले राष्ट्रिय आवश्यकतालाई ख्याल गरेको बताए । रोजगारीलाई विशेष प्राथमिकतामा राखिएको तथा आर्थिक सुधारलाई विशेष ध्यान दिएकाले बजेट वस्तुनिष्ठ रहेको उनको भनाइ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सांसद भुवनबहादुर सुनारले विगतमा बन्द भएका उद्योग प्रतिष्ठान पुनःसञ्चालन गर्ने, आयात निरुत्साहना गर्ने लक्ष्यका साथ बजेटले विशेष प्राथमिकतामा राखेको, ग्रामीण विकास कार्यक्रमलाई महत्व दिएको बताए ।

सांसद सुरेश आलेमगरले नेपाललाई सूचना प्रविधिको केन्द्र बनाउने उद्देश्यका साथ सरकारले आगामी आवको बजेट प्रस्तुत गरेको, वैदेशिक रोजगारीबाट फर्केकालाई उद्यमी बनाउने योजना अगाडि सारेकामा प्रसन्नता व्यक्त गरे । देशभर निर्माण गरिएका विमानस्थल सञ्चालनको मोडालिटी के ? भन्ने प्रश्न गर्दै त्यसमा ध्यान दिन उनले आग्रह गरे ।

छलफलमा भाग लिँदै सांसद उर्मिला अर्यालले सामाजिक न्यायको अभिवृद्धि, गरिबी न्यूनीकरण, स्रोत व्यवस्थापन, आर्थिक वृद्धिको लक्ष्यलाई ख्याल गर्नुपर्ने बताइन् । आर्थिक वृद्धिदरको लक्ष्यलाई बजेटले कसरी सम्बोधन गर्ला भन्ने जिज्ञासा राख्दै उनले रोजगारी र गरिबी न्यूनीकरणका लागि के कसरी काम गर्ला भन्नेमा सरकारले प्रष्ट जवाफ दिनुपर्ने उल्लेख गरिन् ।

सांसद दुर्गा गुरुङले सुन्दा बजेट राम्रो भए पनि कार्यान्वयनमा आशङ्का रहेको बताए । उनले पुँजीगत खर्च हुन नसकेको, राजस्व वृद्धि हुन नसकेको अवस्थामा ठूलो आकारको बजेटले उत्साह नभई निराशा मात्रै बढाउने आरोप लगाए ।

सांसद नारायणदत्त मिश्रले अर्थमन्त्रालयमा राखिएको अबण्डा बजेट कहाँ खर्च गरिन्छ भन्ने प्रश्न गर्दै निजी क्षेत्रलाई आश्वस्त बनाएर अगाडि बढ्नुपर्ने, कृषि र स्वास्थ्य क्षेत्रमा चालु आवको तुलनामा बजेट घटाइएका गुनासो गरे । उनले हरेक वर्षको बजेटमा रुग्ण उद्योग सञ्चालन गर्ने उल्लेख गरिए पनि कार्यान्वयन नभएको गुनासो गरे ।

सांसद विष्णुकुमारी सापकोटाले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नेगरी बजेटले विशेष ध्यान दिनुपर्ने, खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । सांसद तुलसाकुमारी दाहालले अर्थतन्त्रमा देखिएको शिथिलतालाई सम्बोधन गर्ने गरी बजेटमा विशेष प्रबन्ध गरिएको र विगतका सकारात्मक कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताइन् । उनले उद्देश्य र योजना राम्रो भए पनि कार्यान्वयन नहुँदा जटिलता आउने गरेको तथ्य स्मरण गरे ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रम बजेटमा छ कि छैन भन्ने प्रश्न गर्दै लैङ्गिक उत्तरदायी बजेट जरुरी रहेको बताए । आर्थिक वर्ष २०८१÷८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल आगामी बैठकमा समेत जारी रहनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्