काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायतसँग लगानीको माग गरेका छन् । नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनसँग भएको भेटमा ढकालले नेपालमा वैदेशिक लगानी आवश्यक रहेकोमा जोड दिएका हुन् ।
उनले सरकारले नेपालमा लगानी आकर्षित गर्न आयोजना गरेको नेपाल लगानी सम्मेलनको पनि उल्लेख गरे । नेपाल र बेलायतबीच लामो समयदेखि रहेको द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै ढकालले बेलायती राजदूतलाई दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवद्र्धन गर्न आग्रह गरे । निजी क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान पुर्याइरहेको अवस्थाबारे पनि उनले राजदूतलाई जानकारी गराए । नेपालमा वैदेशिक लगानी आएमा निजी क्षेत्रले थप योगदान दिन सक्ने ढकालले बताए ।
ढकालले मुलुकमा व्यवसाय गर्न सहज वातावरण भएको पनि बताए । नेपाल उद्योग वाणिज्य महासंघको सल्लाहमा सरकारले लगानी प्रक्रियालाई सहज बनाउन आठवटा लगानी ऐन परिमार्जन गरेको उनले राजदूत फेनलाई जानकारी दिए । राजदूत फेनलाई ढकालले नेपालमा रहेका विभिन्न लगानीका अवसरका बारेमा पनि जानकारी गराएका थिए । उनले जलविद्युत क्षेत्र, सूचना प्रविधि, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको बताए । यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपालमा व्यापार विस्तारको बारेमा आफ्नो धारणा व्यक्त गरे । यसका साथै एफएनसीसीआईको लगानी मञ्चका अध्यक्ष मनोज पौडेलले देशमा लगानीका नयाँ अवसरका बारेमा जानकारी दिए ।
यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले बेलायत सरकारले ६५ विकासोन्मुख देशलाई विकासोन्मुख देश व्यापार योजना सुविधा उपलब्ध गराउँदै आएको बताए । नेपालले यो सुविधा कसरी लिन सक्छ भन्ने जानकारीका लागि उनले राजदूतलाई अनुरोध गरे । सन् २०२६ सम्ममा नेपाल विकासोन्मुख मुलुकको दर्जामा पुग्ने भएकाले नेपालले आफ्नो निर्यातमा भन्सारमुक्त पहुँच गुमाउने अवस्थीले बताए ।
प्रतिक्रिया दिनुहोस्