भोजपुर । प्रशस्तमात्रामा वनक्षेत्र भएकाले भोजपुरको माथिल्लो भेगलाई मौरीपालनका लागि निकै उपयुक्त मानिन्छ । यहाँका वन क्षेत्र आसपासमा रहेका बस्तीका स्थानीयले परम्परागत (मुढेघार) मौरीपालन गरिरहेका छन् । आधुनिक मौरीपालनका बारेमा जानकारी नहुँदा किसान परम्परागतरुपमा मौरीपालन गर्न बाध्य भएका हुन् ।
जिल्लाको टेम्केमैयुङ–५ मझौलेका स्थानीयवासी दिपक विष्टले विगत २४ वर्षदेखि परम्परागतरुपमा मौरीपालन गर्दै आएका छन् । मुढेघारमा उनका २० घारमौरी छन् । आधुनिक प्रविधिका विषयमा जानकारी नहुँदा बाउबाजेबाट सिकेको सीपलाई अवलम्बन गरेर मौरीपालन गरिरहेको उनले बताए । आवश्यक तालिम तथा आधुनिक सीपको अभाव हुँदामा परम्परागत मौरीपालनमा समस्या हुने गरेको उनको भनाइ छ ।
विष्टले भने,“विगत २४ वर्षदेखि मौरीपालन गरिरहेको छु । स्वदेशमा स्वरोजगार बन्ने लक्ष्यले यो व्यवसायमा लागेको हुँ । लामो समयदेखि यस व्यवसायमा जोडिए पनि राज्यकोतर्फबाट हालसम्म सहयोग पाएको छैन । आधुनिक प्रविधिबाट पालन गर्नसके अझ राम्रो हुन्थ्यो । राज्यको कुनै पनि निकायबाट यस्तो सीप लिने अवसर पाएको छैन ।” मौसमअनुसार एक वर्षमा दुईदेखि तीन पटकसम्म मह निकाल्न सकिने उनले जानकारी दिए ।
सिजनमा एकपटकमा ८० देखि ९० केजीसम्म मह निकाल्न सकिने व्यवसायी विष्टले बताए । मह स्थानीय बजारमा प्रतिकेजी रु एक हजार पाँचमा बिक्री हुने गरेको उनको भनाइ छ । उत्पादित महको बजारीकरण नहुँदा सोचेअनुसारको आम्दानी लिन समस्या भएको उनले बताए । उनले भने,“लेकाली भेगको जडीबुटीको मह भएकाले औषधिजन्य गुण बढी हुन्छ । उत्पादित महलाई स्थानीय बजारमा बिक्रीवितरण गरिरहेको छु । बजारीकरण राम्रो हुने हो भने यसबाट राम्रो आम्दानी लिन सकिन्छ ।”
राज्यकोतर्फबाट आवश्यक सहयोग, तामिलसँगै प्राविधिक ज्ञान पाएमा थप सहज हुने उनको भनाइ छ । आधुनिक घारमा मौरीपालन गर्ने सोच भए पनि राज्यको निकायबाट कुनै पनि सहयोग पाउन नसकेको उनको दुखेसो छ । राज्यबाट आउने अनुदान तथा अन्य सहयोग बास्तविक किसानसम्म पुग्न नसकेको उनको भनाइ छ । टेम्केमैयुङ–४ लुङ्गिनका कृषक रामकुमार राईले २५ वर्षदेखि परम्परागतरुपमा मौरीपालन गर्दै आएका छन् । उनले २८ वटा मुढेघारमा व्यावसायिकरुपमा मौरीपालन गरिरहेको बताए । एक सिजनमा सबै घारको मह झिक्दा एक सय केजीसम्म मह सङ्कलन हुने उनको भनाइ छ ।
महको बजारीकरणमा समस्या रहेको भन्दै उत्पादित महलाई बान्डिङ गरेर बाह्य बजारमा पठाउन सके मनग्ये आम्दानी लिन सकिने राईले बताए । “विगत २५ वर्षदेखि मौरीपालन गर्दै आएको छु । सबै घारलाई काड्दा एकपटकमा एक सय केजीसम्म उत्पादन हुन्छ । बजारीकरणमा समस्या छ, यसलाई बान्डिङ गरेर बेच्न स्थानीय तह तथा सरोकार भएकाले पहल गर्नुपर्छ” उनले बताए । पराम्परागत घारमा मौरीपालन गर्दा भाग्ने जोखिम बढी हुने उनको भनाइ छ ।
आधुनिक मौरीपालनको विषयमा ज्ञान नहुँदा बाध्य भएर पराम्परागतरुपमा पालन गरिरहेको राईले बताए । उनले भने,“मुढेघारमा मौरीपालन गर्दा जोखिम बढी हुन्छ । घारमा लगाएको मौरी भाग्ने सम्भावना बढी हुन्छ । भागीहाल्यो भने परिश्रम त्यसै खेर जान्छ । आधुनिक रुपमा मौरीपालन गर्ने रहर भए पनि त्यसको विषयमा जानकारी छैन । राज्यले हामी जस्ता किसानलाई प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिदिए व्यवसायमा थप टेवा पुग्ने थियो ।”
मौरीपालनका लागि घमाइलो र नजिक वन जङ्गल भएको ठाउँ उपयोगी हुने किसान राईको भनाइ छ । आफूले पालेको मौरीले वन जङ्गलबाट मह सङ्लन गर्ने भएकाले चरणमा लगेर सङ्कलन गरेको महभन्दा बढी लाभदायक हुने उनले बताए । राईले भने,“हाम्रो ठाउँको मौरीको चरण क्षेत्र नै जङ्गल हो । जङ्गलबाट विभिन्न बोट बिरुवासँगै जडीबुटीबाट मह सङ्कलन गर्ने भएकाले चरण लगेर सङ्कलन गरेको महभन्दा धेरै लाभदायक हुन्छ । कुनाकाप्चाको ठाउँ भएकाले हामीले यसको विषयमा सबैलाई बुझाउन सकेका छैनौँ । राज्यले यस्ता अर्गानिक उत्पादनको बजारीकरणमा ध्यान दिए सहज हुने थियो ।”
प्रतिक्रिया दिनुहोस्