स्याङ्जा । स्याङ्जाको वालिङमा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई उद्यमशील बनाउने उद्देश्यले ‘कृषि विकास परियोजना’ सञ्चालन गरिएको छ । वालिङका विपन्न र न्यून आय भएका परिवारलाई आयआर्जनसँग जोड्दै गरिबी निवारण गर्ने उद्देश्यसहित परियोजनाको सुरुआत गरिएको हो ।
वालिङ नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थाको सहकार्यमा परियोजना गत वैशाख अन्तिम सातादेखि सुरु भएको हो । कृषि विकास परियोजनामार्फत विशेषगरी कृषि र पशुका माध्यमबाट नगरवासीको आर्थिकस्तरमा सुधार ल्याउने योजना पालिकाको रहेको नगरप्रमुख कृष्ण खाँणले बताए । उनले भने,“कृषि विकास परियोजनामार्फत कृषि र पशुका माध्यमबाट न्यून आय भएका नगरवासीको आर्थिक स्तर सुधार्न सक्ने गरी योजना बनाएका छौँ । यसको कार्यान्वयनका लागि अगाडि बढिसकेका छौँ, छिट्टै नै उपलब्धिहरु देखिन थाल्नेछन् ।”
परियोजनाले बैङ्कसँगको सहकार्यमा सहुलियत दरमा कर्जा प्रवाह गर्नेछ । कृषि उत्पादन र बजारीकरण, युवामा कर्जा प्रवाह, फरक क्षमता भएका व्यक्तिहरुको आयआर्जनमा परियोजनाले सहयोग गर्ने नगरप्रमुख खाँणले बताए । नगरका १४ वटा वडामध्ये पहिलो चरणमा सातवटा वडाका न्यून आय भएका घर पहिचान गरी काम अगाडि बढाइने हेफर प्रोजेक्ट नेपालका कार्यक्रम प्रबन्धक प्रेम साम्वयुले बताए । परियोजनामार्फत विपन्न तथा न्यून आय भएका महिला र युवा लक्षित कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ ।
परियोजना सञ्चालनका लागि ३ करोड ५० लाख बजेट विनियोजन भएको भन्दै कार्यक्रम प्रबन्धक साम्वयुले यसको अवधि २६ महिना रहेको जानकारी दिए । उनका अनुसार परियोजनामा वालिङ नगरपालिकाको ७० प्रतिशत र हेफर प्रोजेक्टको ३० प्रतिशत लागत साझेदारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्