भर्खरै नेपाल राष्ट्र बैंकले सर्वाजनिक गरेको अध्ययन प्रतिवेदनमा विदेशी लगानीमा चलेका ३ वटा उद्योग ५० प्रतिशतभन्दा कम क्षमतामा चलेको भनियो । त्यो त्रुटिपूर्ण छ ।
मैले तीनवटै विदेशी लगानी भएका उद्योगलाई राम्रोसँग नियालेको छु । मेरो लगानी रहेको अर्घाखाँची सिमेन्टकै कुरा गर्नुहुन्छ भने उद्योग १ सय १० प्रतिशत क्षमता उपयोग गरी चलिरहेको छ ।
नेपाल राष्ट्र बैंकले कसरी तथ्यांक संकलन गर्यो मैले बुझ्न सकिरहेको छैन ।
५० प्रतिशतमात्र क्षमता उपयोगको कुरा गरिएको छ । मलाई लाग्छ, हामी क्लिंकर र सिमेन्ट उत्पादन गर्छौं । सिमेन्टको मात्र तथ्यांक लिएइएको हुनुपर्छ ।
क्षमता उपयोगको कुरा जोडेर नेपालमा विदेशी लगानीका सिमेन्ट उद्योग खोल्नुपर्छ भनिएको छ । तर, राष्ट्र बैंकको तथ्यांकमा त्रुटि छ, प्रतिवेदन त्रुटिपूर्ण छ । कुन प्रयोजनका लागि ल्याइयो, त्यो प्रतिवेदन बनाउने निकायलाई ने हेक्का हुनुपर्छ ।
जानकारीका लागि, सिमेन्ट उद्योग जडित क्षमताभन्दा बढीमा चलिरहेका हुन्छन् । सिमेन्ट उद्योगमा जडित क्षमता धेरै कारकमा भर पर्छ, अरु उद्योग जस्तो घन्टामा कति युनिट उत्पादन गर्ने भन्ने सिमेन्ट उद्योगको हकमा लागु हुँदैन ।
१ हजार टन चुनढुंगाबाट कहिले ८ सय टन पनि सिमेन्ट बन्दैन त कहिले १२ सय टनसम्म सिमेन्ट बनिरहेको हुन्छ । उत्पादन परिमाण चुनढुंगाको गुणस्तरदेखि अन्य विविध कारकमा भर पर्छ ।
नेपालका सिमेन्ट उद्योगहरुको कुरा गर्दा गत वर्ष कोभिडका कारण चुनढुंगा खानी बन्द थिए, जसले उद्योगको क्षमता उपयोग कम देखिएको होला ।
तर, नेपालका उद्योगहरु पूर्ण क्षमतामा चलेका छन् । राष्ट्र बैंकको प्रतिवदेनमा जे लेखिएको छ, त्यो त्रुटिपूर्ण छ । यथार्थमा त्यस्तो छैन ।
सिमेन्टमा आत्मनिर्भर बन्ने अभियानमा सरकारी र विदेशी लगानीको उद्योगबाटै धोका !
गत वर्षको आयात तथ्यांक बढी हुनुको दुईवटा कारण छन् । पहिलो हो, कोरोना त्रासका कारण उद्योग र खानी नचल्नु । त्यसो हुँदा नेपाली सिमेन्ट प्रयोग गर्ने पूर्वाधारहरुले आयात गर्नुपर्ने भयो । कतिले एड्भान्स पनि दिइसकेका थिए ।
दास्रो, केही परियोजना ड्युटी–फ्रि सिमेन्ट आयात गर्न पाउँछन् । उनीहरुका लागि विदेशी सिमेन्ट सस्तो पर्न जाने हुँदा स्थानीय सिमेन्ट किन्दैनन् ।
ठूला परियोजना, त्यसमा पनि विशेष गरी विदेशी लगानीमा सञ्चालन भएका परियोजनाले सतप्रतिशत भन्सार छुट पाउँछन् । त्यसो गर्दा विदेशी सिमेन्ट सस्तो पर्न जान्छ । हामीले उत्पादन गर्ने सिमेन्ट विदेशको भन्दा बढी मूल्य पर्नुको कारण हो, हाम्रो उत्पादन प्रक्रियामा लाग्ने सामग्रीहरु (कोइला आदि) मा भन्सार लाग्नु ।
यसरी हामीले सरकारलाई तिरेको रकम फिर्ता पाउँदैनौं । यसर्थमा विदेशी सिमेन्ट हामीभन्दा सस्तो पर्छ । र, परियोजनाहरुले हाम्रो सिमेन्ट प्रयोग गर्दैनन् ।
ठूला परियोजनालाई भन्सार छुट दिनु हुँदैन भन्ने हाम्रो पुरानो माग हो । जे सुविधा आयातमा छ, स्थानीय उत्पादनमा सोही सुविधा दिन हामीले हारगुहार गरिरहेका छौं । स्थानीय सामग्रीमा सुविधा नदिने भए आयातमा पनि सुविभा नदिन सरकारसँग माग गरिहेका छौं । सरकार कानमा तेल हालेर बस्छ ।
अर्कातर्फ सिमेन्ट उद्योगहरुले क्षमताभन्दा कम उत्पादन गरेर महंगोमा बेच्ने गरेको आरोप पनि लाग्छ । तर, त्यसो होइन । सिमेन्टको मूल्य विगत केही समयदेखि घटिरहेकै छ । यसको कारण हो, क्षमता तथा इफिसिएन्सी बढ्दै जानु । सरकारी कम्पनीको भन्दा निजी उद्योगको सिमेन्ट १५ प्रतिशत सस्तो छ ।
नेपालमा आवश्यकभन्दा बढी सिमेन्ट उत्पादन हुनेमा गरेकामा दुईमत छैन तर आवश्यक आधारभुत आवश्यकता दिइएको छैन । नेपाली सिमेन्ट उद्योगले विद्युत पाइरहेका छैनन् । सरकारले विद्युत देओस् मात्र सिमेन्ट उद्योगको उत्पादन क्षमता र परिमाण स्वतः बढ्छ ।
नयाँ उद्योग खै कता चाहिएको छ ? हामीसँग पुँजी छ, प्रविधि पनि छ । विदेशी लगानी किन ल्याउने ?
हाम्रो उत्पादन बढ्दै गर्दा सिमेन्ट निर्यातको सम्भावना पनि धेरै छ । तर, सिमेन्ट उद्योगको हकमा यातायातको माध्यमले ठूलो अर्थ राख्छ । १० रुपैयाँ प्रतिकिलो सामानमा २ रुपैयाँ थप भाडा लाग्यो भने महंगो भइहाल्छ ।
लागत घटाउने केही विकल्प पनि छन् । भारतको लागतभन्दा यहाँ बढी हुनुपर्ने अरु कुनै कारण त छैन । सबै कारण भन्सार, यातायात र बिजुलीको मूल्य नै हो ।
नेपालबाट तेस्रो मुलुक वा भारतकै टाढाको सहरमा त भन्न सकिन्नँ, सीमावर्ती क्षेत्रमा नेपाली सिमेन्ट बेच्न सक्ने सम्भावना छ । बिहार र उत्तर प्रदेशमा बेच्न सक्ने हुनका लागि बिजुली सस्तोमा उपलब्ध गराइदिनुपर्छ ।
सिमेन्ट निर्यात गर्ने उद्योगले जति विद्युत खपत गर्छन्, त्यसको मूल्य नेपालले विजुली निकासी गर्दा लिने मूल्य बराबर हुनुपर्छ भन्ने हाम्रो माग छ । सिमेन्ट उद्योगले निकासी गर्ने सिमेन्टमा खपत हुने बिजुली सस्तोमा दिए निर्यात सम्भव हुन्छ ।
बिजुली निकासी गर्नुको सट्टा उद्योगलाई सोही मुल्यमा बिजुली बेचे हुन्छ नि !
यस्तै, तेस्रो मुलुकबाट भारत आउने सामान नेपालले आयात गर्न नमिल्ने सन्धी गरिएको छ । जसलाई संशोधन गर्न भारत तयार छ, नेपाल छैन । त्यो संशोधन गरौं ।
फर्किएर सिमेन्टमा विदेशी लगानीका बारेमा कुरा गर्दा, यो क्षेत्रमा विदेशी लगानी केमा चाहिएको हो पहिचान गर्नुपर्छ । प्रविधि चाहिएको हो कि पुँजी ? अहिले त प्रविधि र पुँजी दुवै छ ।
(नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुरारकासँग सिंहदरबारले कुराकानीमा आधारित ।)
प्रतिक्रिया दिनुहोस्