Shikhar Insurance
National Life

रफाहमा इजरायली आतङ्क अन्त्य हुनुपर्छ : राष्ट्रसङ्घीय महासचिव गुटेरेस

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १५, मंगलवार १८:५७
Hyundai
NCELL
NIMB

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले रफाहमा इजरायली हमलाको निन्दा गर्दै उक्त आक्रमणले द्वन्द्वबाट शरण खोजिरहेका धेरै निर्दोष नागरिकको ज्यान लिएको बताएका छन् । उनले गाजामा कुनै पनि सुरक्षित ठाउँ बाँकी नरहेको भन्दै यस्तो आतङ्क रोक्नुपर्नेमा जोड दिएका हुन् ।

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा गुटेरेसले भने,“म इजरायली कार्यको निन्दा गर्दछु जसले यस घातक द्वन्द्वबाट शरण खोजिरहेका धेरै निर्दोष नागरिकको ज्यान लिएको छ । गाजामा कुनै सुरक्षित स्थान नभएको हुँदा यस्ता आतङ्क तत्काल रोकिनुपर्छ । इजरायली आक्रमणले विस्थापित मानिसको शिविरमा प्रहार गरेपछि कम्तिमा ४५ जनाको मृत्यु भएको छ भने दुई सय जना घाइते भएको गाजाको सरकारी सञ्चार कार्यालयले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हमासको कम्पाउन्डलाई निशाना बनाएर गरेको आक्रमणको केही समयपछि इजरायली रक्षा बल (आइडिएफ)ले हमासका दुई वरिष्ठ अधिकारी मारिएको घोषणा गरेको थियो । हमासले इजरायली शहर तेल अवीवमा गरेको पहिलो रकेट आक्रमणपछि इजरायलले यो आक्रमण गरेको हो । मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च आयोग (युएनएचसीआर)का भोल्कर टर्कले गाजामा थप नागरिकको ज्यान गएकोमा भय व्यक्त गरे । सोमबार एक समाचार विज्ञप्ति जारी गर्दै उनले भने,“शिविरका तस्बिर डरलाग्दो छन् र पहिले नै धेरै नागरिकहरूको ज्यान लिइसकेको इजरायलले प्रयोग गरेको युद्धको विधि र साधनहरूमा कुनै स्पष्ट परिवर्तन भएको छैन ।”

संयुक्त राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा भोल्कर टर्कले द्वन्द्वका सबै पक्षलाई युद्धविराम गर्न आह्वान गरे । उनले भने,“इजरायलले नागरिकहरूको रक्षाका लागि तत्काल उपयुक्त कदम चाल्नुपर्छ, उनीहरूलाई आवश्यक मानवीय सहायतामा पहुँच सुनिश्चित गर्नुपर्दछ, र हिरासतमा रहेका सबैलाई रिहा गर्नुपर्दछ ।” संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले हमासका आतङ्ककारीलाई सबै बन्धकलाई बिनाशर्त रिहा गर्न आह्वान गरेका छन् । उनले हमासले अन्धाधुन्ध रकेट प्रहार रोक्नुपर्नेमा जोड दिए ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार रफाहको विस्थापन शिविरमा देशको आक्रमणलाई “दुखद् गल्ती” भएको स्वीकार गरेका छन् । उनले इजरायलले उक्त घटनाको अनुसन्धान गरिरहेको बताएका छन् । “युद्धमा संलग्न नभएका मानिसलाई हानी नगर्ने हाम्रो सक्दो प्रयासका बावजुद दुर्भाग्यवश एउटा गल्ती भयो । हामी मुद्दाको अनुसन्धान गरिरहेका छौँ”, प्रधानमन्त्री नेतान्याहूले बताए ।

“इजरायली सेनाले यी क्षेत्रलाई सुरक्षित क्षेत्र तोकेका र आम नागरिक र विस्थापित व्यक्तिलाई सुरक्षित क्षेत्रमा जान आह्वान गरेको थियो । विस्थापित मानिसले उक्त सुरक्षित क्षेत्रमा शरण खोज्दा आक्रमणमा परेका हुन्”, गाजाको सरकारी कार्यालयले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्