सुनसरी । शिक्षण छाडेर व्यावसायिक रूपमा अदुवाखेतीमा लाग्नुभएका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका तिलक राईले यस वर्ष अदुवाखेतीबाट पशस्त आम्दानी भएको बताए । गत वर्षको तुलनामा यस वर्ष उनले अधिक आम्दानी गरेका हुन् ।
चालिस वर्षदेखि राई अदुवाखेती गर्दै आएका छन् । पूर्वशिक्षक राईले वर्षमा सातदेखि १० क्विन्टलसम्म अदुवा उत्पादन गर्दै आएको बताए । अहिले खुद्रा प्रतिकेजी १ सय ५० देखि दुई सय ८० सम्ममा बिक्री हुने गरेकाले राम्रो आम्दानी हुने गरेको उनले बताए । उनले भने,“अदुवाखेती गर्नका लागि अलि भिरालो ठाउँ फोस्रो माटो आवश्यक पर्छ, ठाउँअनुसार राम्रो उत्पादन भइरहेको छ ।”हाल विष्णुपादुकामा अदुवाखेती गर्ने दुई सय बढी किसान रहेका राईले बताए । उनी सो स्थानका सफल व्यवसायी हुन् । उनले विष्णुपादुकामा रहेर अदुवाखेतीबाहेक अम्लिसो, बेसार, अकबरे खुर्सानीलगायत कृषि उपज उत्पादन तालिम दिँदै आएका छन् ।
व्यावसायिक रूपमा अदुवाखेती गर्दै आउनुभएका धरान उपमहानगरपालिका–२० का अर्का किसान पदम राई मौसमले साथ दिँदा अदुवाखेतीबाट मनग्य आम्दानी हुने गरेको बताए । उनले वार्षिक १० क्विन्टलभन्दा बढी अदुवा उत्पादन गर्दै आएका छन् । उनले विष्णुपादुका क्षेत्रमा मात्र नभएर मोरङको लेटाङमा समेत जग्गा लिजमा लिएर अदुवाखेती गरेका छन् । वार्षिक ३ लाखसम्मको अदुवा बेचेको उनले सुनाए ।विगतको तुलनामा यस वर्ष अदुवाको मूल्य बढेको धरान कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईले बताए । उनले कोशी करिडोरका पहाडी जिल्लाका किसानले अत्यधिक मात्रामा अदुवा ल्याउने गरेका तथा सगरमाथा करिडोर सिन्धुलीबाट पनि अदुवा बोकेर किसान आउने गरेका बताए । विशेषगरी धेरै अदुवा जेठदेखि भदौसम्म बिक्री हुने गरेको जानकारी उनले दिए ।
दैनिक रुपमा एक सयदेखि दुई सय मेट्रिक टन अदुवा धरान कृषि बजारबाट बिक्री हुने गरेको उनले बताए । विसं २०८० असार मसान्त देखि २०८१ जेठ १० गतेसम्ममा धरान उपमहानगरपालिका १३ कृषिबजारबाट जम्मा सात हजार आठ सय सन्तावन्न मेट्रिकटन अदुवा बिक्रीबाट १ अर्ब ३७ करोड ४९ लाख ७५ हजार आम्दानी भएको अध्यक्ष लक्ष्मण भट्टराईले बताए ।
अदुवा निकासीमा सरकारको सहयोग अपरिहार्य भएको उनले बताए । बेलाबेलामा धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, पाँचथर, ताप्लेजुङलगायत ठाउँबाट किसानले अदुवा ल्याउने गरेका छन् । भारत मात्र नभएर तेस्रो देश निर्यातको गृहकार्य गर्नुपर्ने अध्यक्ष भट्टराई बताउँछन् । अदुवाको बजार उत्साहजनक भएकाले अधिकभन्दा अधिक उत्पादन गर्नेतर्फ ध्यान दिन जरुरी भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्