Shikhar Insurance
National Life

इलाममा जेठ २६ गतेदेखि अन्तर्राष्ट्रिय चिया महोत्सव हुने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ११, शुक्रबार १४:०६
Hyundai
NCELL
NIMB

इलाम । इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको छ । चियाको राजधानीको नामले चिनिने इलाममा यही जेठ २६ देखि २८ सम्म चिया महोत्सव आयोजना हुन लागेको हो ।

नेपाली चियाको गुणस्तर विश्वमाझ पुर्‍याउन अन्तर्राष्ट्रिय चिया महोत्सव गर्न लागिएको इलाम नगपालिकाका प्रमुख केदार थापाले बताए । उनले चिया उद्योगी, व्यवसायी किसान तथा अन्तर्राष्ट्रिय चिया पारखी र व्यवसायीलाई समेट्ने गरी महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नगरप्रमुख थापाले भने,“नेपालको चिया विश्वमा नै स्वादिष्ट र अग्र्यानिक मानिए पनि प्रचारप्रसार नहुँदा किसान तथा व्यापारीले कम मूल्यमा बिक्री गर्नुपरिरहेको गुनासो बढेपछि नगरपालिकाको अगुवाइमा चिया महोत्सव आयोजना गरेका हौँ । कृषिजन्य उत्पादन चियालाई विदेश निर्यात गर्न सके विदेशी मुद्रा आर्जन प्रमुख स्रोत बन्ने थियो ।” चियाको बजारीकरण गर्ने र किसानलाई खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।

महोत्सवपछि इलामसहित नेपालमा उत्पादित चिया अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन र बजारीकरण गर्न सहजता हुने अपेक्षा गरिएको नगरप्रमुख थापाले बताए । उनका अनुसार महोत्सव इलाम बजारमा आयोजना गरिने छ । महोत्सव आयोजनाका लागि नगरप्रमुख थापाको संयोजकत्वमा समिति गठन भएको छ । इलाम उद्योग वाणिज्य सङ्घसँगको सहकार्य तथा नेपाल पर्यटन बोर्डको सहयोगमा महोत्सव सञ्चालन हुनेछ । महोत्सवमा चियासँग सम्बन्धित विभिन्न सङ्घसस्थाका साथै चिया किसान तथा व्यापारी सहभागी हुनेछन् ।

महोत्सवपछि चिया किसान, व्यापारी र विदेशी चिया व्यापारीबीचको दूरी कम हुँदै जाने र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष चेतनाथ पौडेल (कृष्ण)ले बताए । उनका अनुसार इलाममा १९२० सालमा नै चिया रोपन सुरु भएको इतिहास छ । महोत्सवमा इलाममा उत्पादन हुने सबैखाले चियालाई समावेश गराइनेछ । विदेशी चिया पारखी तथा चिया व्यापारीले महोत्सवबाट चिया खरिद तथा बिक्री गर्नसक्ने आयोजकले जनाएको छ ।

इलाममा उत्पादन हुने चियालाई प्रदर्शनसँगै बिक्रीवितरण र प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिएकामा यहाँका किसान उत्साहित भएका छन् । महोत्सवमा ‘चिया’ विषयमा छलफल एवं अन्तक्र्रियासमेत हुने नगरप्रमुख थापाले जानकारी दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्