Shikhar Insurance
National Life

बजेटकाे अभावमा बागलुङ खानेपानी आयोजना अलपत्र

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ९, बुधबार १४:४४
Hyundai
NCELL
NIMB

बागलुङ । बागलुङमा वर्षौं अगाडि सुरु भएका खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन सकेका छैनन् । जिल्लाका पाँच ठूला खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन नसकेका हुन् ।

निरन्तर बजेट परेको अवस्थामा दुई वर्षमा सकिने ती आयोजना वर्षौंसम्म पनि अधुरै छन् । बडिगाड गाउँपालिका–३ मा चरम खानेपानीको अभाव भएपछि आर्थिक वर्ष २०६७/६८ मा जिल्ला खानेपानी कार्यालयबाट ओखरगैँडा खानेपानी आयोजना परेको थियो । उक्त आयोजना हालसम्म पनि सम्पन्न हुन सकेको छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२ करोड ८५ लाख २९ हजारमा काम सक्ने गरी सुरु भएको आयोजना १२ वर्षसम्म पनि ६४ प्रतिशत मात्रै काम भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जनाएको छ । आयोजनाको लागत ठूलो हुने तर बजेट कम पर्दा समयमै सम्पन्न हुन नसकेको कार्यालयका प्रमुख किरण पौडेलले बताए ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा १५ लाख मात्रै विनियोजन गरेको भन्दै आयोजना सम्पन्न गर्न अझै १ करोड चार लाख ७० हजार आवश्यक पर्ने उनको भनाइ रहेको छ । उनका अनुसार यो योजनाका लागि हालसम्म १ करोड ८० लाख ५६ हजार खर्च भएको छ ।

ढोरपाटन नगरपालिका–२ र ३ मा आर्थिक वर्ष २०७४÷७५ मा पम्पिङ खानेपानी आयोजना परेको थियो । आयोजना परे पनि लामो समय बजेट नपर्दा हालसम्म २५ प्रतिशत मात्रै काम भएको छ । चालु आवमा सरकारले रु १५ लाख विनियोजन गरेको थियो ।

५ करोड ३४ लाख ५२ हजार लागतमा निर्माण हुन लागेको उक्त आयोजना सम्पन्न गर्न अझै ३ करोड आवश्यक पर्ने खानेपानी डिभिजन कार्यालयका प्रमुख पौडेलले जानकारी दिए । हालसम्म यो आयोजानामा ८५ लाख ७९ हजार खर्च भएको उनको भनाइ रहेको छ ।

जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको उपल्लाचौरमा आर्थिक वर्ष २०७५÷७६ मा लामिचौर रमेटार खानेपानी आयोजना सञ्चालन भएको थियो । ३ करोड १४ लाख एक हजार लागतमा निर्माण थालिएको उक्त आयोजनाको हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ ।

चालु आवमा प्रदेश सरकारबाट रु १५ लाख बजेट विनियोजन भएको डिभिजन प्रमुख पौडेलले बताए । उनका अनुसार आयोजना सम्पन्न गर्नका लागि अझै ३ करोड ५५ लाख छ हजार आवश्यक पर्दछ । आव २०७६÷७७ मा जिल्लाको बडिगाड गाउँपालिकामा भिरकटेरा खानेपानी आयोजना निर्माण सुरु गरिएको थियो । २ करोड ९९ लाख ७९ हजार लागतमा निर्माण सुरु भएको आयोजनको हालसम्म ५० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

चालु आवमा उक्त आयोजनाका लागि १० लाख बजेट विनियोजन भएको जनाउँदै आयोजना सम्पन्न गर्न थप १ करोड ४० लाख आवश्यक पर्ने प्रमुख पौडेलले बताए । उनका अनुसार यस आयोजनामा हालसम्म ३ करोड १४ लाख एक हजार खर्च भइसकेको छ ।

बडिगाड गाउँपालिका–४, ५ र ८ मा आव २०७६÷७७ मा नेटाखर्क जलजला बृहत् खानेपानी आयोजना सुरु भएको थियो । ६ करोड नौ लाख ९० हजार लागत निर्माण हुन थालेको यस आयोजनाको हालसम्म २० प्रतिशत काम सकिएको छ ।

चालु आवमा प्रदेश सरकारबाट १० लाख विनियोजन भएको भन्दै आयोजना सकिन अझै ३ करोड ७९ लाख ९४ हजार लाग्ने प्रमुख पौडेलले बताए । यस आयोजानमा हालसम्म ६६ लाख २५ हजार मात्र खर्च भएको उनको भनाइ रहेको छ ।

आयोजना निकै ठूला–ठूला छन् तर बजेट थोरै आउँदा समयमै काम सम्पन्न गर्न समस्या भएको छ । करोडौँका आयोजना छन्, बजेट १०÷१५ लाख मात्रै आउँछ, यसरी हेर्दा एउटा आयोजना सकिन वर्षौं लाग्ने देखिन्छ प्रमुख पौडेलले भने ‘बजेट अभावका कारण चाहेर पनि समयमै काम सम्पन्न गर्न सकिरहेका छैनौँ । आएको जति बजेटले धमाधम काम गरिरहेका छौं।’

ढोरपाटन नगरपालिका–२ का विकास सुनारले आयोजना सुरु भएको सात वर्षसम्म जम्मा २५ प्रतिशत काम हुनु दुःखद भएको बताए । हिउँदको समयमा बुर्तिबाङसहित आसपासका ठाउँहरुमा खानेपानीको चरम अभाव हुने भन्दै यसतर्फ सरोकार भएकाको ध्यान नजाँदा आयोजनाको कामले गति लिन नसकेको उनको गुनासो छ ।

यहाँका हजारौँ नागरिक वर्षौंदेखि खानेपानीका लागि लाइन कुर्नुपर्ने बाध्यतामा रहेका भन्दै ती आयोजना सरकारको प्राथमिकतामा पर्न नसकेको सुनारले बताए । कतै करोडौँका योजना पर्छन्, करोडौँ बजेट पनि पुग्छ, तर यहाँका हजारौँ जनता खानेपानीको समस्याबाट ग्रसित छन्, आयोजना सुरु पनि भएको वर्षौं बितिसक्दा पनि बजेट अभावले काम सम्पन्न भएका छैनन्”, भने भने ‘करोडौँका आयोजनामा जम्मा रु १५ लाख आउँछ, यसरी २०औँ वर्षसम्म पनि काम सकिँदैन, जनता सधैँ खानेपानीको समस्यामा हुन्छन् ।’

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्