झापा । दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व सङ्कलन गरेको छ ।
नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ५१ लाख ६३ हजार नौ सय ७३ रकम बढी राजस्व सङ्कलन गरेको हो । गत आवको १० महिनामा दमक नगरपालिकाले ११ करोड ७२ लाख ५६ हजार एक सय ५९ रकम राजस्व सङ्कलन गरेको थियो ।
नगरपालिकाका सूचना अधिकारी समिप चुडालले चालु आवमा २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा ६८ प्रतिशत राजस्व सङ्कलन गरिएको जानकारी दिए । चालु आवको दुई महिनामा राजस्व सङ्कलनको बाँकी ३२ प्रतिशत रकम उठाउने लक्ष्य भेट्टाउन कठिन छ उनले भने ।
दमक नगरपालिकाले विभिन्न २६ शीर्षकमा राजस्व सङ्कलन गर्दै आन्तरिक आय गर्दै आएको छ । नगरपालिकाले हालसम्म सम्पत्ति करबापत २ करोड नौ लाख, कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने दस्तुरबापत १ करोड ६० लाख रकम सङ्कलन गरेको सूचना अधिकारी चुडालले बताए । नगरपालिकाले चालु आवको वैशाखसम्ममा मालपोत कर १ करोड ६४ लाख, सम्पत्ति कर १ करोड ५५ लाख, नक्सापास दस्तुर १ करोड ६० लाख, बहाल करबापत १ करोड १८ लाख बढी सङ्कलन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्