काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारका लगानीकर्ताहरुको हित संरक्षणका लागि क्षतिपूर्ति कोष स्थापना गर्न ताकेता गरेको छ । धितोपत्र ऐन, २०६३ को दफा ५३, ५४ र ५५ मा रहेको व्यवस्था अनुसार क्षतिपूर्ति कोष स्थापनाका लागि बोर्डले ताकेता गरेको हो । ‘ऐन बनेको १५ वर्षसम्म पनि लगानीकर्ताको हित संरक्षणका लागि क्षतिपूर्ति कोष बनेको रहेनछ, अब त्यस्तो बनाउनै पर्छ, हामीले अध्ययन थालिसकेका छौं’, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले भने ।
बोर्डले क्षतिपूर्ति कोष कसरी सञ्चालन गर्न सकिन्छ ? नेप्से मार्फत सञ्चालन गर्ने वा बोर्ड आफैंले सञ्चालन गर्ने भन्नेबारे आन्तरिक रुपमा अध्ययन अघि बढाईसकेको पनि उनले जानकारी दिए । ‘नेप्सेले क्षतिपूर्ति कोष सञ्चालनबारे कामै गरेन, उसका सेवाहरु पनि सोचे जस्तो विश्वसनिय देखिएनन्, लगानीकर्ताको हित संरक्षणमा अब्बलता देखिएन, त्यसकारण अब के गर्ने भन्नेबारे अध्ययन गर्दैछौं’, अध्यक्ष ढुंगानाले भने ।
धितोपत्र ऐन, २०६३ को दफा ५३ मा–‘धितोपत्र बजारले क्षतिपूर्ति कोषको व्यवस्था गर्नु पर्ने: (१) धितोपत्र बजारले लगानीकर्ताहरुलाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउन बोर्डले तोकिदिए बमोजिम एउटा क्षतिपूर्ति कोषको स्थापना र सञ्चालन गर्नु पर्नेछ ।’ भन्ने व्यवस्था छ । त्यसरी धितोपत्र बजार सञ्चालक(हाललाई नेप्से)ले क्षतिपूर्ति कोष सञ्चालन नगरेमा बोर्डले नै त्यस्तो कोषको व्यवस्था गर्न सक्ने कानुनी सुबिधा छ ।
ऐनको दफा ५५ मा लेखिएको छ–‘बोर्डले क्षतिपूर्ति सम्बन्धी व्यवस्था गर्न सक्ने ः धितोपत्र बजारले लगानीकर्ताहरुलाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउन दफा ५३ बमोजिम क्षतिपूर्ति कोषको स्थापना र सञ्चालन गर्न नसकेमा वा तोकिए बमोजिम दिनु पर्ने क्षतिपूर्तिको रकम नदिएमा वा दिन नसकेमा बोर्डले तोकिए बमोजिम क्षतिपूर्ति कोषको स्थापना र सञ्चालन गर्न वा दिनु पर्ने क्षतिपूर्तिको रकम तोकिए बमोजिम दिलाउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्नेछ ।’
लगानीकर्ताका लागि तयार पारिने क्षतिपूर्ति कोषमा निश्चित श्रोतहरुबाट रकम जम्मा गर्ने व्यवस्था छ । सो सम्बन्धी विस्तृत व्यवस्था भने नियमावली बनाएर तय गरिनेछ ।
ऐनको दफा ५४ मा नियमावली मार्फत निम्त विषय स्पष्ट पारि अघि सार्ने भनिएको छ–
क्षतिपूर्ति कोषको सञ्चालन सम्बन्धी व्यवस्था ः दफा ५३ वा ५५ बमोजिम स्थापना हुने क्षतिपूर्ति कोषको सञ्चालनका सम्बन्धमा नियमावलीमा देहायका व्यवस्था गरिनेछ :–
(क) कोषमा रकम जम्मा गर्ने सम्बन्धी व्यवस्था,
(ख) कोषबाट क्षतिपूर्तिस्वरुप दिने अधिकतम रकम,
(ग) कोषको लेखा र लेखापरीक्षण सम्बन्धी व्यवस्था,
(घ) क्षतिपूर्ति कोषबाट रकम प्राप्त गर्न दाबी गर्न पाउने अवस्था र दाबी गर्ने कार्यविधि,
(ङ) क्षतिपूर्ति कोषमा दाबी नलाग्ने अवस्थाहरु,
(च) क्षतिपूर्ति कोषबाट दाबी बमोजिम रकम दिने सम्बन्धमा कारबाही तथा निर्णय गर्ने तरिका,
(छ) एक व्यक्तिलाई क्षतिपूर्तिस्वरुप दिन सकिने अधिकतम रकमको हद,
(ज) क्षतिपूर्ति दाबीका सन्दर्भमा छानबिन गर्ने सम्बन्धमा आवश्यक अन्य कुराहरु,
(झ) धितोपत्र बजारको अनुमतिपत्र खारेज भएमा गरिने व्यवस्थाहरु,
(ञ) क्षतिपूर्तिका सम्बन्धमा आवश्यक अन्य व्यवस्थाहरु ।
सेटलमेन्ट ग्यारेन्टी फण्ड छँदैछः साउद
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का महाप्रबन्धक चन्द्रसिंह साउँदले भने लगानीकर्ताहरुको हित संरक्षणका लागि दुई वर्षअघि देखि नै सेटलमेन्ट ग्यारेन्टी फण्ड कार्यान्वयनमा ल्याएको बताए । त्यस्तै, कम्पनी रजिष्ट्रारको कार्यालयले पनि लगानीकर्ता संरक्षण कोष चलाईरहेको पनि उनले बताए ।
धितोपत्र ऐनमा रहेको व्यवस्था अनुसारको क्षतिपूर्ति कोष स्थापनाका लागि भने केहि जटिलता र अन्यौलता देखिएको साउँदले बताए । ‘क्षतिपूर्ति कोषका लागि श्रोत के हो ? त्यसको परिचालन कसरी हुने विषयको टुंगो लाग्नुपर्छ ।’, नेप्सेका महाप्रबन्धक साउँदले सिंहदरबारसँग भने । ऐनले भने अनुसारको कोष खडा गर्न धितोपत्र बोर्डले नियमावलीसहितको आधार तय गरिनुपर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्