Shikhar Insurance
National Life

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि हेलम्बु गाउँपालिकाद्वारा द्विपक्षीय सम्झौता

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३, बिहीबार १४:३१
Hyundai
NCELL
NIMB

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले आफ्नो पालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि द्विपक्षीय सम्झौता गरेको छ । विद्यालयको शैक्षिक अवस्था खस्किन नदिन गाउँपालिकाले यस्तो उपाय अवलम्बन गरिएको हो ।

सामुदायिक विद्यालयका प्रधानाध्यापकले शिक्षा अधिकृतसँग कार्यसम्पादन करार सम्झौता गरेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । उनका अनुसार गाउँपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि विद्यालयमा अध्ययनरत बालबालिकाको सिकाइ उपलब्धि र उत्तीर्ण दरमा बढोत्तरी गर्दै शिक्षाको गुणस्तरमा अभिवृद्धि र विद्यालयबाट प्रदान गरिने सेवालाई सुशासनमैत्री र नतिजामुखी बनाउनका लागि गाउँपालिकाको शिक्षा विकास तथा समन्वय एकाइ, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घको नियमित सुपरीवेक्षणमा रही चालु शैक्षिकसत्र २०८१ मा सम्पादनका लागि नयाँ शर्त राखिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्झौतामा भनिएको छ, “देहायका उल्लेखित कार्य सम्पादन गर्दछु भनी यस गाउँपालिकाका शिक्षा अधिकृत धनध्वज लामासमक्ष यो कार्य सम्पादन करार सम्झौता गरेको छु ।” कार्य शर्तहरुमा चालु शैक्षिकसत्र २०८१ मा कक्षा १ देखि ३ को विद्यार्थी सिकाइ उपलब्धि दर शतप्रतिशत कक्षा ४ देखि १० को विद्यार्थी सिकाइ उपलब्धि न्यूनतम १० प्रतिशतले वृद्धि गर्ने साथै सबै तह र कक्षाको विद्यार्थी उत्तीर्ण प्रतिशत शतप्रतिशत गर्ने उल्लेख गरिएको छ ।

तोकिएको समयवधिभित्रै विद्यालय सुधार योजना अध्यावधिक र कार्यान्वयन, सामाजिक परीक्षण, लेखापरीक्षण अध्यावधिक, दिवा खाजाको प्रभावकारी व्यवस्थापन, विविध निकायबाट विद्यालयमा प्राप्त भएका बजेट तथा कार्यक्रमको समयमै कार्यान्वयन गरी सम्बन्धित निकायमा पेस गर्नुपर्ने कागजात तथा प्रतिवेदन समयमा पेस गर्ने उल्लेख छ । विद्यालयले शिक्षक विद्यार्थीको आचारसंहिता निर्माण गरी सार्वजनिक तथा कार्यान्वयन गरेर पाठ्यक्रमले तोकिएबमोजिम सम्पूर्ण क्रियाकलापको पूर्ण कार्यान्वयन गरी शैक्षिक योजना, डायरी, विद्यार्थी ‘होमवर्क’लगायत प्रभावकारी कार्यान्वयन गर्ने उल्लेख छ ।

पालिकामा कार्यरत प्रधानाध्यापकले शिक्षा नियमावली, २०५९ को नियम ९४ मा उल्लेखित कार्य गरी माथिल्लो निकायबाट निर्दिष्ट भएका निर्देशन, परिपत्रको कार्यान्वयन र प्रतिवेदन गर्नुपर्ने उल्लेख छ । साथै प्रधानाध्यापकले माथि उल्लेखित कार्य शर्त पूरा गर्नका लागि विद्यालयको योजना, रणनीति तयार गरी यस सम्झौता तथा शिक्षा नियमावली २०५९ को नियम १३३ बमोजिम सबै शिक्षकसँग अनिवार्य करार सम्झौता गर्नुपर्नेछ । तोकिएका शर्तहरुको कार्यान्वनको विश्लेषण गर्दै गाउँ शिक्षा समितिले निर्णय गरी आवश्यक पृष्ठपोषण प्रदान, परस्कृत र कारबाही गर्न सकिनेछ ।

गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र सामाजिक विकास संयोजक छिरिङ लामा ह्योल्मोको रोहबरमा गरिएको हस्ताक्षर गाउँपालिकाका तर्फबाट शिक्षा अधिकृत लामाले गरेका थिए भने विद्यालयका तर्फबाट प्रधानाध्यापकले हस्ताक्षर गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्