विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट आज विश्वासको मत लिएका छन् । आज बसेको प्रदेशसभा बैठकमा कार्कीले ५७ मत प्राप्त गरेर विश्वासको मत लिएका हुन् ।
उनको विपक्षमा भने शून्य मत परेको थियो । प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो । आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । कूल ९३ सदस्यीय प्रदेशसभामा आज ६२ सांसद उपस्थित थिए । कार्की तेस्रो पटक प्रदेश सरकारमा मुख्यमन्त्री बनेका हुन् । यसअघि विश्वासको प्रस्तावमाथि भएको छलफलमा नेकपा (एमाले)का प्रमुख सचेतक रेवतीरमण भण्डारी, नेकपा(माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जवेगुले विश्वासको प्रस्तावको पक्षमा मन्तव्य राखेका थिए ।
यसैगरी राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो दल प्रतिपक्षमा बस्ने र मतदानमा तटस्थ बस्ने जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्