काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।
फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत गएराति काठमाडौं आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए । उनले भने,“गएराति फ्लाई दुबईबाट काठमाडौं आएका दुई जना भारतीयले आफूले लगाएको लुगामा सुन जस्तो देखिने पहेँलो रङको धातु लेपन/पेष्ट गरिएको अवस्थामा फेला परेपछि पक्राउ गरिएको छ ।”
पक्राउ परेकामध्ये सुरेश कुमारको लुगासहितको उक्त सुन जस्तो देखिने पहेँलो रङको धातुको तौल २ किलो ६ सय ग्राम तथा मोहनकुमारको लुगासहितको तौल २ किलो ५ सय ग्राम हुन आएको विमानस्थल सुरक्षा प्रमुख शर्माले जानकारी दिए । उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्