Shikhar Insurance
National Life

बजेट अधिवेशनको तयारी पुरा, गृहमन्त्रीमाथि छानविन समिति नबनेसम्म संसद चल्न नदिने काँग्रेसको अडान

सिंहदरबार संवाददाता
२०८१ बैशाख २५, मंगलवार ०९:५६
Hyundai
NCELL
NIMB

काठमाडौँ । बैशाख २८ गतेदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ । संघीय संसद सचिवालयले बजेट अधिवेशनको सम्पूर्ण तयारी पुरा गरिसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । ‘हामीले बजेट अधिवेशनको लागि गर्नुपर्ने आन्तरिक व्यवस्थापन र तयारीका सबै काम पूरा भैसकेका छन् ।’ प्रवक्ता गिरीले भने ।

अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनका साथै आर्थिक, विनियोजन र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निर्वाध सदन सञ्चालनका निम्ति परामर्श गर्न सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गरेका पाँच राजनीतिक दलका शीर्ष नेतासँग बैठक गर्दै छन् । संसद् सचिवालयले सदन सञ्चालनका लागि बनाएको ‘क्यालेण्डर’ अनुरूप संसदीय गतिविधिमा सबै राजनीतिक दललाई सहयोग गर्न सभामुखले बैठकमा पुनः अनुरोध गर्नेछन् ।

सरकारले प्रत्येक वर्ष जेठ १५ गते वार्षिक आयव्ययको अनुमानित विवरण प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरिसकेको छ ।

विगतमा ‘प्रि–बजेट’ छलफल हुने गरेकामा यस वर्ष बजेटका प्राथमिकता र सिद्धान्तमा हिउँदे अधिवेशनमा नै त्यो कार्य पूरा भइसकेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी २६ वटा विधेयक विचाराधीन छन् । राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयक दर्ता भएको छ । प्रतिनिधिसभामा दर्ता भएका २४ वटा विधेयकमध्ये १४ वटा विषयगत समितिमा र १० वटा राष्ट्रियसभामा विचाराधीन छन् ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले जनताले बचत गरेको रकम विभिन्न सहकारीले हिनामिना गरेकालगायत विषयमा छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै लामो समयसम्म संसद् अवरोध गरेपछि संसद्को हिउँदे अधिवेशन अन्त्य भएको थियो । अहिले पनि गृहमन्त्री माथि छानविन गर्न संसदीय समिति नबनेसम्म संसद चल्न नदिने अडान काँग्रेसले छाडेको छैन् । काँग्रेसले संसद अधिवेशन सुरु हुनु अघि नै संसदीय समिति गठनको प्रक्रिया थालिसक्नुपर्ने अन्यथा बजेट अधिवेशन समेत अघि बढ्न नसक्ने स्पष्ट पारिसकेको छ । प्रधानमन्त्री प्रचण्डले व्यक्तिको नाम उल्लेख नगरि समग्र सहकारी ठगी प्रकरणको अध्ययन गर्न संसदीय समिति बनाउन सकिने बताएका छन् । तर काँग्रेसले गृहमन्त्रीमाथि नै छानविन समिति बन्नुपर्ने अडान कस्दै आएको छ ।

यसैबीच, रासस प्रतिनिधिसँग सङ्क्षिप्त कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले अधिवेशनलाई परिणामुखी तुल्याउन संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसदले जिम्मेवारीबोधका साथ भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।

उनले भने, “अबका चुनौती पार लगाउँदै नागरिकमा आशा जगाउने र युवाशक्ति देशभित्रै रहने वातावरण सिर्जना गर्नेगरी नीति तथा कार्यक्रम सदनमा पेस गर्न सरकारले गृहकार्यमा जुटेको छ, त्यसका आधारमा बजेट पनि आउँछ ।”रासस

GBIME

प्रतिक्रिया दिनुहोस्