राँझा । बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि किसान चिन्तित बनेका छन् । व्यावसायिक रुपमा बेमौसमी मकैखेती हुँदै आएको डुडुवा गाउँपालिका–६ हिरमिनियाको महन्तपूर्वालगायतका क्षेत्रमा रोग तथा कीराको सङ्क्रमणले मकैमा क्षति पुगेको हो ।
डुडुवा–६ हिरमिनियाका किसान जियालाल यादवले मकै फल्ने बेलामा कीराले पात हुँदै बोटमा आक्रमण गरेपछि बोट मर्ने समस्या देखिएको बताए । बारीमा कीराले सङ्क्रमण गरेको मकैका बोट देखाउँदै किसान यादवले भने,“मेहनत गरेर लगाएको बाली फल्ने बेलामा कीराले खाएको छ, यो पटक मकैमा लगाएकाले लगानी पनि नउठ्ने भयो । रोग लागेकाबारे गाउँपालिकाको कृषि शाखामा जानकारी गराए पनि उपचार हुन सकेको छैन ।”
यादवको करिब १४ कट्ठा जमिनमा लगाइएको बेमौसमी मकैमा रोगको सङ्क्रमण देखिएको हो । पातमा कीराले खाएर प्वाल पार्ने र विस्तारै बिरुवा सुक्दै जाने समस्या देखिएको उनको भनाइ छ । स्थानीय सावितराम यादवले सुरुमा लगाएको मकैबाली सप्रिए पनि पछिल्लो पटकको मकै बालीमा रोग कीराको सङ्क्रमण देखिएको बताए । जिल्ला कृषि ज्ञानकेन्द्र बाँकेका सूचना अधिकारी जीवनकुमार केसीले कहिँकतै रोगको सङ्क्रमण देखिएको कृषकले गुनासो गरे पनि प्रकोपका रुपमा नरहेको उल्लेख गरे ।
उनले स्थलगतरूपमा अनुगमन गरेर मकैमा सङ्क्रमण गरिरहको कीरा र रोगका बारेमा पहिचानका लागि स्थानीय तहका कृषि शाखासँग समन्वय भइरहेको बताए । बाँकेमा राप्ती सोनारी गाउँपालिकाको वैजापुर, फत्तेपुर, बिनौना, नेपालगञ्जको भवानीयापुर, बाबुगाउँ, डुडुवाको हिरमिनिया र खजुरा क्षेत्रमा किसानले बमौसमी मकैखेती गर्दै आएका छन् । बमौसमी मकैखेतीका लागि राहत तथा अनुदानको कार्यक्रम नभए पनि किसानले स्वस्फूर्तरुपमा खेती गर्दै आएको किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्