Shikhar Insurance
National Life

देशभरि बालबालिकालाई जेठ १३ गतेदेखि पोलियोविरुद्ध खोप लगाइँदै

सिंहदरबार संवाददाता
२०८१ बैशाख २१, शुक्रबार १३:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो ।

यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइने जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको बताए । उनका अनुसार वि.सं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो । सन् २०१६ देखि २०१८ को बीचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए । खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले ३२ करोड बराबरको खोप उपलब्ध गराएको विभागले जनाएको छ ।

नियमित रुपमा ती बालबालिकालाई लगाइने पोलियोविरुद्धको खोप गाभीले त्यतिबेला उपलब्ध गराउन सकेको थिएन उनले भने अहिले फेरि खोप उपलब्ध गराएपछि लगाउने तयारी गरिएको हो । नियमिततर्फ पोलियोविरुद्ध छ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ । दुई सातासम्म चल्ने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभी’ दिइने जनाइएको छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्