म्याग्दी । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष २१ करोडभन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो ।
म्याग्दीमा यस वर्ष उत्पादन भएको ३ हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट २१ करोड ६० लाखको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी सम्झना आचार्यका अनुसार गत वर्ष १७ करोडको सुन्तला उत्पादन र बिक्री भएको थियो । सुन्तला प्रतिकिलो ५५ देखि ६० का दरले बिक्री भएको छ ।
बेनी नगरपालिकाबाट सबैभन्दा बढी ३ करोड ३८ लाखको सुन्तला उत्पादन तथा बिक्री भएको छ । मालिका गाउँपालिकाबाट १ करोड ३६ लाख, अन्नपूर्ण गाउँपालिका र मङ्गला गाउँपालिकाबाट क्रमशः १ करोड ३० लाखको दरले सुन्तला बिक्री भएको छ ।
धवलागिरि गाउँपालिकाबाट ३० लाख ७० हजार तथा रघुगङ्गाबाट २५ लाखको सुन्तला बिक्री भएको सूचना अधिकारी शर्माले बताए । बेनी नगरपालिका–३ भकिम्ली, मरेक र राखु क्षेत्रबाट मात्रै २ करोड २० लाखको सुन्तला निकासी भएको छ । बेनी नगरपालिका–४ को सिङ्गास्थित थामडाँडा, बास्कुना र सुर्केमेलाबाट १ करोड १० लाखको सुन्तला निकासी भएको वडा सदस्यसमेत रहेका किसान सन्दीप खत्रीले बताए ।
म्याग्दीमा आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकामा चार सय २० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले बताए । सुन्तलाको प्रतिहेक्टर आठ दशमलव छ मेट्रिक टन उत्पादकत्व रहेको छ उनले बताए । अनुकूल मौसम, रोग तथा कीराको प्रकोप नियन्त्रण, किसानलाई बीउमल, विषादी, कृषि औजार एवं सामग्रीमा अनुदान सहयोग तथा क्षेत्रफल विस्तारले सुन्तलाको उत्पादन बढेको हो ।
कृषि ज्ञान केन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए ।
जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौं, पोखरा, मुग्लिनलगायतका बजारमा सुन्तला निकासी भएको बेनी नगरपालिका–३ राखुका किसान खिम पुनले बताए । राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् ।
यातायात सुविधा भएकाले ब्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै पुग्ने गरेका छन् । सुन्तलाखेती विस्तार, बगैँचा व्यवस्थापन र नर्सरी स्रोत केन्द्र स्थापनासम्बन्धी कार्यक्रमका लागि चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले ५१ वटा फार्म, समूह र सहकारीका लागि रु ६२ लाख अनुदान दिन छनोट गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्