Shikhar Insurance
National Life

ड्रागन खेतीबाट मनग्य आम्दानी गर्दै स्याङ्जाका शिव, फार्म सुरक्षाका लागि पालिकाद्वारा ३ लाख

सिंहदरबार संवाददाता
२०८१ बैशाख १४, शुक्रबार ११:३२
Hyundai
NCELL
NIMB

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्केका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गरेका हुन् ।

उनले भने,“दक्षिण कोरियामा निर्माण क्षेत्रमा काम गरेता पनि फुर्सदमा त्यहाँका कृषि फार्ममा पनि काम गरेर अनुभव लिएको थिएँ । त्यहाँ सिकेको ज्ञान अहिले आफ्नै जन्मभूमिमा फर्केर प्रयोग गरी आम्दानीसित जोडिएको छु ।” कोरियाबाट ड्रागनखेती गर्छु भन्ने संकल्पकाका साथ गाउँ आएका उनले दुई वर्षअघि तीन सय बिरुवा लगाएका थिए । बिरुवाले प्रशस्त फल दिएपछि त्यसलाई विस्तार गर्दै हाल पाँच रोपनीमा एक हजार बिरुवा लगाएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“नयाँ फल भएकाले स्थानीय बजारमा यसको खपत भएको छ । गत वर्ष घरबाट नै डेढ क्विन्टल बिक्री गरेको थिएँ यस वर्ष पाँच क्विन्टल बिक्री गर्ने लक्ष्य छ” उनले भने । सुरुमा आफूले उत्पादन गरेको फलका बारेमा बुझाउँदै हिँड्नु परे तापनि अहिले उत्पादन हुनासाथ घरबाटै बिक्री हुने गरेकाले बजारको समस्या नभएको उनी बताउँछन् । प्रतिकेजी ५ सय रुपैयाँका दरले बिक्री गर्दै आएका उनी मागअनुसार आपूर्ति गर्न नसकको बताउँछन् ।

६ लाखको लागतमा व्यावसायिक खेती थालेका थापालाई ‘फार्म’को सुरक्षाका लागि वालिङ नगरपालिकाले तारबार गर्न ३ लाख उपलब्ध गराएको छ । वडा कार्यालयले पनि सिँचाइका लागि सहयोग गरेको उनले बताए । उनले ड्रागन फ्रुटसँगै खाली रहेको जमिनमा कोरियाली साग (फेछु) र चिनियाँ साग पनि लगाएका छन् । उनले भने, “ड्रागन फ्रुटका बोटका बीचमा साग लगाएको छु, त्यसको माग अत्यधिक छ । तीन–तीन महिनामा साग बेचेर १ लाख आम्दानी गर्दै आएको छु ।”

साग पनि स्थानीय व्यापारीले घरमै आएर किन्ने गरेका छन् । उनले फार्ममा सेतोपातीको समेत व्यावसायिक उत्पादन गर्दै आएका छन् । काटेर सुकाएको सेतोपाती प्रतिकेजी १ सय रुपैयाँका दरले बिक्री हुने गरेको छ । “अहिले उत्पादन भएको ड्रागन फ्रुटलगायत कृषिजन्य उत्पादन नजिकैको बजारमा खपत भइरहेको छ, अब व्यवसायलाई विस्तार गर्ने सोचमा छु”, उनले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्