म्याग्दी । तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनी नगरपालिका–९ स्थित ऐतिहासिक महत्वको ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार भएको छ । ऐतिहासिकस्थलको संरक्षण गरी पर्यटक भित्र्याउनका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिइएको हो ।
पछिल्लो छ वर्षको अवधिमा ढोलठानामा ५० लाख बढीको पूर्वाधार निर्माण भएको बेनी नगरपालिका–९ घतानका वडाध्यक्ष चक्र केसीले बताए । “बेनी र गलेश्वर आउने पर्यटक तथा भक्तजनको बसाइ लम्ब्याउने उद्देश्यले ढोलठानामा पूर्वाधार विस्तारलाई तीव्रता दिइएको हो । गलेश्वरदेखि घतान हुँदै ढोलठाना जोड्ने पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न अध्ययन थालिएको छ ” उनले बताए ।
यस वर्ष गण्डकी प्रदेश सरकारको १० लाख बजेटबाट ढोलठाना दरबार रहेको ठाउँमा मौलिक सीप, कला र स्रोतसाधनको प्रयोग गरेर विश्राम गरेर दृष्यावलोकन स्थल, पैदलमार्ग र प्रवेशद्वार निर्माण गरिएको छ । वडा सदस्य गणेश सुवेदीले ढुङ्गा र माटोको प्रयोग गरेर दुई सय मिटर सिँढी चिनेको पदमार्गका साथै उद्यान र बसेर दृष्यावलोकन गर्न ढुङ्गाको सिँढीसहितको विश्रामस्थल बनाइएको जानकारी दिए । प्रदेश सरकारकै थप १० लाख बजेटबाट उद्यान परिसरलाई संरक्षण गर्न टेवा पर्खाल निर्माण थालिएको छ ।
यसअघि ३० लाख बजेटबाट सडक, पदमार्ग, उद्यान, सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण भएको थियो । तत्कालीन राजा बम मल्लको समयमा विसं १६३१ देखि राजा हिउँदका चार महिना बेनी र अरु आठ महिना ढोलठानामा बसेर तत्कालीन पर्वत राज्य सञ्चालन गरेको इतिहास छ । पर्वत राज्य नेपालमा विलय भएको विसं १८४३ सम्म ढोलठानामा सो राज्यको राजधानीकारुपमा रहेको थियो ।
नीलबराह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सागर बानियाँले ढोलठानामा उद्यान निर्माणका क्रममा भेटिएका प्राचीन सामग्री सुरक्षितरुपमा राखिएको बताए । उनका अनुसार तत्कालीन दरबार निर्माणमा प्रयोग भएका काठ, चट्नी र नुन पिस्ने सिलौटो, झिँगटी, घरका पिल्लर र इँटा भेटिएको थियो । समुन्द्री सतहदेखि एक हजार आठ सय ८० मिटर उचाइमा अवस्थित ढोलठानाबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरिलगायत दर्जनौँ हिमाल, सूर्योदयोको मनमोहक दृष्यको अवलोकन गर्न सकिन्छ ।
पूर्वाधार निर्माणसँगै बेनी र अन्य ठाउँबाट आएका पर्यटकको चहलपहल बढेको स्थानीय रामबहादुर शाहीले बताए । उनले भने,“नागबेली परेर बगेको म्याग्दी नदीका साथै पर्वत र बागलुङका बजार तथा बस्ती अवलोकन गर्न पाउनु ढोलठानाको थप विशेषता हो । सडक यातायात सुविधा र प्रचारप्रसारसँगै चहलपहल बढेको हो ।”
प्रतिक्रिया दिनुहोस्