Shikhar Insurance
National Life

प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिता वैशाख २२ गतेदेखि हुने

सिंहदरबार संवाददाता
२०८१ बैशाख ११, मंगलवार १६:२७
Hyundai
NCELL
NIMB

पाटन । प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महाकाल गाउँपालिकामा यही वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ । प्रतिष्ठानले ललितपुर जिल्ला खेलकुद विकास समितिमा आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीका साथै सहभागी टिमहरु, पुरस्कार राशि तथा लागत खर्चसमेतको विषयमा जानकारी गराइएको हो ।

प्रतियोगिता संयोजक डोल्मा माया गोलेले प्रतियोगिता भव्यरुपमा सम्पन्न गर्नका लागि जिल्ला, पालिका र वडा तहमा विभिन्न समितिहरु गठन गरिएको जानकारी गराइन् । “समितिहरुले द्रुतगतिमा तयारीका कार्य गरिरहेका छन् । प्रतियोगितामा प्रदेशभरका एक सय १९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने अपेक्षा गरिएको छ । सबै पालिकामा पत्राचार गरिसकिएको छ । यस प्रतियोगिताका कारण नेपालमा भलिबलको खेलको विकासमा सहयोगी हुने अपेक्षा गरिएको छ”, संयोजक गोलेले भनिन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कूल पुरस्कार राशि १२ लाख रहेको प्रतियोगिताको विजेतालाई ३ लाख, उपविजेतालाई २ तथा तृतीय हुने दुई टिमलाई १÷१ लाख प्रदान गरिनेछ । साथै उत्कृष्ट प्रशिक्षक तथा खेलाडी पाँच जनालाई जनही ५० हजार पुरस्कार रहेको छ । प्रतियोगिताको ललितपुर जिल्ला खेलकुद विकास समितिले सहआयोजक रहेको जानकारी गराउदै उनले प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग रहेको छ । यसैगरी नेपाल भलिबल सङ्घको प्राविधिक सहयोग रहेको बताइन् ।

प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य तथा प्रधानमन्त्रीका निजी सचिवालय सदस्य शान्ताकुमार दराईले युवामा स्वास्थ्यसम्बन्धी चेतना फैलाउने उद्देश्यका साथ स्थापित प्रतिष्ठानले खेलकुदलगायतका कार्यक्रम गर्दै आएको जानकारी गराए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहाल र छोरी ज्ञानु दाहालको स्मृतिमा प्रज्ञा स्मृति प्रतिष्ठान स्थापना गरिएको हो । प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै खेलकुदलगायतका विभिन्न सामाजिक काम तथा कार्यक्रम गर्दै आइरहेको उनले जानकारी गराए ।

प्रतियोगिताका सम्पूर्ण खेल ललितपुर महाकाल गाउँपालिकास्थित महाँकाल माविको प्राङ्गणमा हुने जानकारी गराइएको छ । प्रतियोगिता प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी गराइएको छ । नेकपा (माओवादी केन्द्र) ललितपुरका इञ्चार्ज हरि दाहालले प्रतियोगिता सफल पार्नका लागि पार्टीका स्थानीय कमिटीलाई समेत परिचालन गरिएको बताउनुभयो । “हामीले बागमती प्रदेशभित्रका स्थानीय खेलाडीलाई प्राथमिकता दिएर खेल सञ्चालन गर्न लागेका हौँ । यसमा विभागीय टिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सहभागी गराइने छैन । टिम दर्ताका लागि पालिकाको सिफारिसमा नाम उल्लेख हुनु अनिवार्य छ”, दाहालले भने ।

प्रतियोगिताका कारण दक्षिणी भेगमा रहेका स्थानको व्यापकरुपमा प्रचारप्रसार हुने अपेक्षा गरिएको छ । यस क्षेत्रका महाकाल, कोन्ज्योसोम र बागमती गाउँपालिकामा रहेका धार्मिक, प्राकृतिक तथा ऐतिहासिक क्षेत्रहरुमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुने आयोजकले विश्वास गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्