कास्की । पोखरा–३ नदीपुर बस्ने ६५ वर्षीय छोटुलाल शर्माले बाटोमा भेटाएको १७ लाख रुपैयाँ प्रहरीलाई बुझाएको छ । पोखरा महानगरपालिका–८ पृथ्वीचोकस्थित माता श्री ज्वेलर्समा कालीगढको काम गर्ने ४३ वर्षीय मनोहर पवरको १७ लाख रुपैयाँ शर्माले प्रहरीलाई जिम्मा लगाएको हो ।
टिस्यु पेपर लगायतका व्यापार गर्ने शर्माले पैसाको झोला फेला पारेपछि प्रहरी खोज्दै हिँडेको अवस्थामा भेटिएको खोजीमा खटिएका प्रहरी टोलीले बताए । आफ्नो साथमा मोबाइल नभएकाले प्रहरीमा समयमै सम्पर्क गर्न नसकेको शर्माले बताए । पवर आफ्नो रकम जम्मा गर्न नयाँ बजारस्थित कृषि विकास बैंकमा गएका थिए । मोटरसाइकलको लेगार्डमा कालो रङ्गको झोलाभित्र राखेको पैसा हराएको थाहा पाएपछि उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा खबर गरेका थिए ।
“पृथ्वीचोकबाट १७ लाख हरायो भनेपछि ठूलो घटना हुने भयो भनेर सबै ठाउँबाट तत्कालै प्रहरी परिचालित भयो । पैसाको झोला भेटाएपछि उहाँ (छोटुलाल) प्रहरी खोज्दै हिँड्नुभएको रहेछ, प्रहरीलाई देख्ने वित्तिकै उहाँले पैसाको झोला बुझाउनुभयो” प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले भने । प्रनाउ शर्माले फेला परेको पैसा सम्बन्धित व्यक्तिको पुष्टि भएपछि शर्माको रोहबरमा ज्वैलर्सका सञ्चालक पोखरा–५ बस्ने ४३ वर्षीय धुव्रकुमार सुनार बुझाइएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्