Shikhar Insurance
National Life

विपन्न परिवारलाई महिनामा ५ किलो नुन वितरण गर्ने छायाँनाथ रारा नगरपालिकाको निर्णय

सिंहदरबार संवाददाता
२०८० चैत्र ३०, शुक्रबार १२:५८
Hyundai
NCELL
NIMB
सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिकाले विपन्न परिवारलाई प्रत्येक महिना पाँच किलो आयोडिनयुक्त नुन निशुल्क रुपमा दिने भएको छ ।
गरिबसँग नगरप्रमुख कार्यक्रमअन्तर्गत यहाँका चार हजारभन्दा बढी विपन्न परिवारलाई वडा कार्यालयमार्फत प्रत्येकमहिना नुन उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिएका हुन् ।
नुन किन्न सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले वडाबाटै नुन किनेर दिने नीति अवलम्बन गरेको छ । विपन्न घरधुरीलाई उपलब्ध गराएको परिचयपत्रका आधारमा नुन दिने व्यवस्था गरिएको हो । परिचयपत्रको नवीकरणसमेत वडा कार्यालयमार्फत हुने भएको छ ।
नागरिकताको आधारमा पाँच पोका नुन लिन विपन्न समुदायहरु गाउँदेखि सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता छ । वडाबाटै नुन उपलब्ध हुने भएपछि सदरमुकाम पुग्नुपर्ने समस्या सधैंका लागि समाधान हुने छ ।
नगरपालिकाभित्र बाँझो जमिनलाई खेती गर्न नगरपालिकाले विशेष नीति ल्याएको छ । अन्नमा परनिर्भरता अन्त्य गरी खेतीयोग्य जमिन उत्पादनमूलक बनाउन विशेष योजना बनाएको नगरप्रमुख भामले बताए । सिमीलगायतका दालजन्य बाली जिल्ला बाहिर निकासीका काम भइरहेको उनले बताए । “हामीले आफैलाइ गरिब सोचेर समस्या भयो । कृषकको उत्पादन र मासुजन्य वस्तु बजारीकरण गर्न हाटबजारको व्यवस्था गरेका छौँ । बधशाला सञ्चालन गर्न नगरपालिकाले पहल गरेको छ” नगरप्रमुख भामले भने । कृषकलाई बीउ वितरण र कृषि प्राविधिक गाउँ पठाएर नगरपालिकाले कृषिजन्य वस्तु उत्पादनमा जोड दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्