काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुन लागेको लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारसमक्ष आग्रह गरेका छन् ।
सिंहदरबारमा आज आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका कूटनीतिक नियोगहरूको महत्वपूर्ण भूमिका रहने बताए ।
“लगानी सम्मेलनमा सक्रिय रूपमा संलग्न हुन र अधिकतम क्षमता बढाउन विकास साझेदारहरू, द्विपक्षीय र बहुपक्षीय विकास साझेदार संस्थाहरू र नेपालमा रहेका कूटनीतिक नियोगहरूबाट सहयोगको अपेक्षा गर्दछौँ,” प्रधानमन्त्री प्रचण्डले भने । सङ्घीय सरकारका मन्त्रालयहरूसँगै प्रादेशिक र स्थानीय सरकारका परियोजनालाई समान प्राथमिकतामा राखिएको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले सरकार लगानीमैत्री वातावरण बनाउन कानुन परिमार्जन, प्रक्रियागत सुधार गर्न र परियोजना अवधिभर लगानीकर्तालाई अवरोध हुन नदिने वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
“सम्मेलनले घरेलु निजी क्षेत्र र अन्तर्राष्ट्रिय प्रतिनिधिबीचको अन्तरक्रिया र सञ्जाललाई उत्पादन मूल्य शृङ्खलामा लगानी बढाउन, नेपाली उत्पादन एवं सेवालाई विश्व बजारमा जोड्ने मञ्च प्रदान गर्नेछ । लगानी सम्मेलनको यस मञ्चले लगानीकर्ताहरू, विकास साझेदारहरू, वित्तीय संस्थालगायत सरोकारवालालाई एकजुट हुन, अवसर खोज्न, दीर्घकालीन साझेदारीलाई बढावा दिन सहज तुल्याउनेछ ” प्रधानमन्त्री प्रचण्डले बताए ।
उनले विद्यमान र सम्भावित लगानीकर्तालाई आवश्यकपर्ने कुनै पनि सहयोग उपलब्ध गराउन नेपाल सरकार तयार रहेको बताए । सरकारले विभिन्न क्षेत्रमा विदेशी तथा स्वदेशी निजी लगानी आकर्षित गर्न सम्मेलन आयोजना गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनको सफलता सम्भावित लगानीकर्ताले देखाएको चासो, कानुनी र नीतिगत सुधारहरूमार्फत अनुकूल व्यापार वातावरणको सिर्जना गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्