काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कृषिकर्जा खेत किन्नेलाई भन्दा खेती गर्नेलाई प्रदान गर्न सरकारसँग माग गरेका छन् । मंगलबार काठमाडौंमा भएको नेपाल चेम्बर अफ कमर्सको ७३औं वार्षिक साधरण सभामा बोल्दै अध्यक्ष मल्लले यस्तो माग गरेका हुन् ।
उनले बैंक तथा वित्तीय संस्थाहरुले कृषि कर्जाका नाममा अहिलेसम्म खेती गर्नेलाई भन्दा पनि खेत किन्नेलाई दिने गरेको भन्दै सरकारले पनि सोहीअनुसार कृषिकर्जा प्रदान गर्नुपर्ने बताए ।
अध्यक्ष मल्लले सरकारले कृषिमा दिँदै आएको सहुलियत कर्जा निरन्तरता दिनु पर्नेमा जोड दिए । उनले भन्सारमा कारोबार मूल्यलाई मान्यता दिई ढड्डाबाट पैसा उठाउने विधि तत्काल खारेज गर्नुपर्ने बताए ।
उनले सरकारले युवाहरुलाई मुलुकभित्रै रोजगारी दिनेगरी तत्काल रणनीतिक योजना बनाउन आग्रह गर्नुभयो । अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र आयातमुखी भएको जानकारी दिए । उनले कृषिप्रधान देश नेपालले वार्षिक खर्बौं रुपैयाँ भन्दा बढीको खाद्यान्न तथा खाद्य सामाग्रीहरु आयात गरी उपभोग गरिरहेको बताए ।
उनले मुलुकमा भएको प्राकृतिक स्रोत र साधनहरुलाई प्रवद्र्धन, उत्पादन,उपभोग र निर्यात गर्न आवश्यक रहेको उल्लेख गरे । उनले तुलानामत्मक लाभ भएका कृषि,जलस्रोत,पर्यटन र आइटीको क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन आवश्यक रहेको दाबी गरे । उनले हस्तकलाका सामग्री,खानीजन्य वस्तुहरु,बहुमूल्य रत्न पत्थर उत्पादन तथा ब्राण्डिङ गरी निर्यात प्रवद्र्धन गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताए ।
उनले आर्थिक गतिविधि बिस्तार र निर्यात प्रवद्र्धनका लागि संसदमा विचाराधिन कानूनहरु यथाशिघ्र संशोधन गरी पारित गर्न माग गरे । उनले नेपालमा काठको आयातलाई बन्द गर्न माग गरे ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्