म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्षमा १६ किलोमिटर सडक कालोपत्रका लागि तयारी भइरहेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेका बहुवर्षीय र सालबसाली आयोजनामार्फत १६.२ किलोमिटर सडक कालोपत्र/आरसिसी र पिसिसी ढलान गर्न लागेको हो ।
यसैक्रममा आज पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ उपल्लो दरबाङको जनप्रिय टोलबाट शान्ति टोलसम्मको पाँच सय मिटर सडक कालोपत्र भइरहेको छ । त्यसैगरी बुधबार बेनी नगरपालिका–४ सिङ्गाको पौडेलचोकबाट वडा कार्यालयसम्म जोड्ने सडक कालोपत्र गरिएको थियो ।
दरबाङको सडक कालोपत्र गर्ने ठेक्का लिएको सक्षम ब्रदर्स निर्माण कम्पनीले आजदेखि कालोपत्रको काम सुरु गरेको कम्पनीका सञ्चालक मनोज कार्कीले जानकारी दिए । उनका अनुसार नालीसहित ६ सय मिटर सडक कालोपत्र गर्न कम्पनीले भ्याटबाहेक ५० लाखमा जिम्मा लिएको हो ।
त्यसैगरी जिल्लाका अन्य ठाउँका सडक पनि कालोपत्र भइरहेका पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले छ किलोमिटर ग्राभेल, १० किलोमिटर नयाँ मार्ग खोल्ने, १५ किलोमिटर सडक विस्तार र चार किलोमिटर नाली निर्माण, १० हजार घनमिटर टेवा पर्खाल निर्माण गर्न आयोजना सञ्चालन भएको जानकारी दिए ।
उनका अनुसार सडक निर्माण, स्तरोन्नति, कालोपत्र, झोलुङ्गे र सडक पुलसम्बन्धी नयाँ ७० योजना रहेकामा ११ योजना बहुवर्षीयका लागि स्रोत सुनिश्चितता गर्न सिफारिस भएकामा चार ठेक्का मूल्याङ्कनको चरणमा रहेका छन् ।
सालबसाली २३ योजनाको ठेक्का र १३ उपभोक्ता समितिमार्फत कार्यान्वयन भइसकेका छन् । सातवटा सालबसाली योजना सम्पन्न भइसकेका छन् । चार योजनाको ठेक्का सम्झौताको तयारी भएको छ । यसअघि ठेक्का सम्झौता भएका १३ आयोजना चालु रहेका छन् ।
चालु आर्थिक वर्षमा कुल ७१ करोड ३७ लाख बजेट विनियोजन गरिएको कार्यालयले फागुन मसान्तसम्म ८ करोड ९३ लाख ४३ हजार अर्थात् १२.५१ प्रतिशत बजेट खर्च गरेको छ । गत आवमा १३.२८ किलोमिटर पक्की सडक, सात दशमलव दुई किलोमिटर ग्राभेल, २३ किमी दुई सय ७५ मिटर सडक निर्माण भएको थियो ।
यस वर्ष ५.६ किलोमिटर दूरीको गलेश्वर–पिपले–भगवती सडक कालोपत्र र दरवाङ–धारापानी सडकको छ किलोमिटर छ सय मिटर ग्राभेल सकिएको छ । बेनी–दरवाङ सडकको सिम–लाम्पाटा खण्ड र लाम्पाटा–ढाडखर्क खण्डमा करिब नौ किलोमिटर कालोपत्र गर्ने तयारी भएको छ ।
२० करोड लागत अनुमान गरिएको बेनी–पाखापानी, २५ करोड लागत अनुमान गरिएको धारापानी–ताकम–शिवाङ कालोपत्र गर्न आह्वान गरिएको ठेक्का प्रस्ताव मूल्याङ्कनको चरणमा छ । बेनी–भकिम्ली, अदिभारा–डाडागाउँ र पखेर–बरंजा सडक स्तरोन्नतिका लागि १०–१० करोड बजेटको आयोजनाको ठेक्का आह्वान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्