Shikhar Insurance
National Life

६ अर्ब २१ करोडमा सम्झौता भएको पोखरा–मुग्लिन सडक निर्माण सुस्त गतिमा

सिंहदरबार संवाददाता
२०८० चैत्र १८, आईतवार १५:५१
Hyundai
NCELL
NIMB

गण्डकी । पर्यटकीय राजधानी पोखरा प्रवेश गर्ने पोखरा–मुग्लिन सडक विस्तार र स्तरोन्नतिको काममा ढिलाइ भएको छ । ६ अर्ब २१ करोड ३१ लाख लागतमा ठेक्का सम्झौता भएको निर्माण कार्य सुस्त भएको  हो ।

विसं २०७८ वैशाखदेखि सुरु भएको सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय थोरै गति लिन थालेको छ । स्थानीयले निर्माण सुस्त भएकाले अझै गति बढाउनुपर्ने बताउँदै आएका छन् । आयोजनाको पूर्वी सडकखण्ड (मुग्लिन–जामुने)मा हालसम्म भौतिक प्रगति ५१ र पश्चिम खण्ड (जामुने–पोखरा) मा १७ प्रतिशत पुगेको छ । पूर्वी खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार १४ किमी दूरीमा दुईतर्फी (चार लेन) र १२ किमिमा एकतर्फी (दुई लेन) सडक कालोपत्र भइसकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त खण्डमा पर्ने १७ साना–ठूला पक्की पुलमध्ये १४ वटा बनिसकेको र तीन वटा निर्माणाधीन अवस्थामा छन् । मादीमा बन्ने ‘सिग्नेचर’ पुल छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताए । “कोभिड महामारीलगायतका कारण सुरुको चरणमा काम गर्न ढिलाइ भएको हो । अहिले कामले गति लिएको छ, निर्माण कम्पनीले उपकरण र मजदुर थपेर काम गरिरहेका छन् । कालोपत्रका लागि बेस हाल्नेदेखि, कल्भर्ट, नाली, पर्खाललगायत पूर्वाधार तयारीका काम धमाधम भइरहेका छन् ।” उनले बताए ।

पूर्वी खण्डको ४१ दशमलव ४५ किमिको काम विसं २०७८ वैशाखदेखि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले सुरु गरेको थियो । उक्त खण्डको ठेक्काको म्याद आगामी वैशाखसम्म छ । “छ महिना म्याद थपका लागि प्रक्रिया अगाडि बढेको छ, सोही अवधिभित्र कामसक्ने लक्ष्य आयोजनाको छ”, इञ्जिनियर पाण्डेले भने । पूर्वी खण्डमा पर्ने तनहुँको दमौली र डुम्रे बजारमा छ लेन र बाँकी खण्डमा चार लेनको सडक बन्ने उनको भनाइ छ ।

आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख राजेशप्रसाद पौडेलले काम सकिन अझै दुई वर्ष लाग्ने बताए । उनले भने,“हालसम्म पश्चिम खण्डको भौतिक प्रगति १७ प्रतिशत छ, कुनै अवरोध आएन भने दुई वर्षभित्र काम सकिन्छ । सडक निर्माणलाई तीव्रता दिन पश्चिम खण्डमा अहिले इञ्जिनियर र पाँच सय बढी मजदुर खटिएका छन् ।”सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम तीव्र गतिमा भइरहेको उनले जानकारी दिए ।

प्रमुख पौडेलले भने,“कतिपय ठाउँमा सडक दायाँबायाँका भौतिक संरचना, विद्युत् खम्बा, खानेपानी र सिँचाइका पूर्वाधार व्यवस्थापनको काम बाँकी छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरणको प्रक्रिया सँगै अगाडि बढाएका छौँ ।” पश्चिम खण्डमा हालसम्म पाँच किमी सडक कालोपत्र भइसकेको छ । तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्रको तयारी गरिएकामा वर्षाले अवरोध पु¥याएको आयोजना प्रमुख पौडेलले बताए । १९ प्रतिशत भौतिक प्रगति हुनुपर्नेमा वर्षाकै कारण १७ प्रतिशतमात्र पुगेको उनको भनाइ छ ।

प्रमुख पौडेलले आगामी असारभित्र ३० प्रतिशत भौतिक प्रगति हासिल गर्ने लक्ष्यसहित आयोजनाको कामलाई गति दिइएको बताए । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्म ३८ दशमलव ८८ किमी दूरी रहेको पश्चिम खण्डको आधा सडक छ लेन र आधा चार लेनको बन्ने पौडेलले जानकारी दिए । आयोजनासँग हाल २० किमी कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्था छ । निर्माण सामग्रीको अभाव हुन नदिन आयोजनाले कास्की र तनहुँका स्थानीय तहसँग समन्वय गरिरहेको छ । आयोजनाको पश्चिम खण्ड निर्माण पूर्वी खण्डको भन्दा छ महिना पछि सुरु भएको थियो । सडकको अधिकार क्षेत्रभित्रका संरचना, विद्युत् खम्बा, खानेपानीका पूर्वाधार आदि हटाउन समय लागेकाले आयोजना निर्माणमा ढिलाइ भएको प्रमुख पौडेलले बताए ।

पश्चिम खण्डमा विसं २०७८ भदौदेखि काम सुरु गरेकोमा ठेक्काको म्याद आगामी भदौसम्म रहेको आयोजना कार्यालयले जनाएको छ । सो अवधिमा निर्माण सम्पन्न नहुने भएपछि म्याद थपको प्रक्रिया अगाडि बढाइएको आयोजना प्रमुख पौडेलले जानकारी दिए । पश्चिम खण्डअन्तर्गत दुलेगौँडा र मुख्य बजार क्षेत्रको सडकको चौडाइ ४६ मिटर हुनेछ । जामुनेदेखि कुम्लेखोलासम्म १८ मिटर र बाँकी खण्डमा २३ मिटर सडक कालोपत्र हुने जनाइएको छ । पश्चिम खण्डमा १२ वटा पक्की पुल र एक सयको हाराहारीमा कल्भर्ट बनिरहेको आयोजना कार्यालयले जनाएको छ ।

पोखराको सेती नदीमा ‘सिग्नेचर’ पुल निर्माणाधीन अवस्थामा छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ । भ्याटबाहेक ९४ करोडमा ठेक्का लागेको पुल आकर्षक हुने आयोजनाले जनाएको छ । चिनियाँ निर्माण कम्पनी ‘यनहुई काइयुयान हाइवे’ एण्ड ब्रिज कन्सट्रक्सनलले ७ अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्डको निर्माण ठेक्का लिएको हो । कूल ८१ किमी दूरीको सो सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ ।

सडक विस्तार भइरहेकाले प्रदेश राजधानी पोखरा प्रवेश गर्ने मुख्य सडकको यात्रामा सर्वसाधारणले सास्ती खेप्न बाध्य छन् । घाम लाग्दा सडक धुलाम्मे र वर्षात्मा हिलाम्ये हुँदा यातायात सञ्चालनमा कठिनाइ भएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पहिलेको तुलनामा पछिल्लो समय सडक निर्माणले गति लिएकामा सन्तोष व्यक्त गरे ।

“सडक निर्माण सुस्त भएपछि हामीले दबाबमूलक कार्यक्रम गर्नुुपरेको थियो, अहिले सडकको प्रगति हेर्दा सन्तोषजनक देखिन्छ । पर्यटकीय राजधानी जोड्ने मुख्य सडकमार्ग भएकाले चाँडो निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षको ध्यान जानु जरुरी छ । यो सडक पोखराको पर्यटनका लागि कोसेढुङ्गा हो” उनले जानकारी दिए । पोखरा–मुग्लिन सडकस्तरीय नहुँदा पोखरा र आसपासको पर्यटन क्षेत्र मारमा परेको छ । पर्यटकीय राजधानी प्रवेश गर्न घण्टौँको सास्तीपूर्ण यात्रा गर्नुपर्ने अवस्था अन्त्य हुनेमा विश्वस्त रहेको अध्यक्ष श्रेष्ठले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्