गोरखा । बारपाक क्षेत्रमा परेको भीषण वर्षा र असिनाले किसानको बाली खेतमै नष्ट भएको छ । शनिबार साँझ वर्षासँगै परेको ठूलो असिनापानीले भित्र्याउने बेला भएको गहुँ र जौ खेतमै नष्ट भएको हो ।
बारपाकका करिब एक हजार तीन सयभन्दा बढी घरघुरीका किसानले घरमा भित्र्याउने बेला भएको गहुँ र जौँ असिनापानीले नष्ट गरेको बारपाक सुलिकोट गाउँपालिका–१ का वडाध्यक्ष धनबहादुर घलेले बताए । “शनिबार ४ बजेदेखि लगातार तीन घण्टाभन्दा बढी बारपाक क्षेत्रमा भीषण वर्षासँगै असिना परेको थियो । ठूलो पानी र ठूलाठूला असिनाले घरमा भित्र्याउने बेला भएको अन्नबाली नष्ट भएपछि अहिले बारपाकका किसान चिन्तामा परेका छन् ।” वडाध्यक्ष घलेले बताए ।
असिनापानीले बारपाक क्षेत्रमा किसानले लगाएको हिउँदे तरकारी बालीसमेत पूर्णरुपमा नष्ट भएको छ । बारपाकको सोर्पा, र्खोका, च्वेजङ्ग, तसीरङ्ग, र्मोकङ्ग लगायतका क्षेत्रमा किसानले अत्याधिक मात्रामा जौँ र गहुँको खेती गर्ने गर्दछन् । उनले भने,“धेरैजसोको त जौ, गहुँ, आलुको बीउसमेत आउने अवस्था छैन । अब के गर्ने भन्ने चिन्तामा परेका छौँ ।”
असिनापानीले कति मूल्य बराबरको क्षति भयो भन्ने यकीन भइनसकेको उनको भनाइ छ । घलेले भने,“बारपाक क्षेत्रमा प्रायःसबै घरपरिवारले हिउँदे तरकारीखेती, गहुँ र जौको खेती गरेकै हुन्छ । अहिलेसम्म क्षतिको पूरै विवरण सङ्कलन गर्न सकिएको छैन, अब प्राविधिकलाई बोलाएर के गर्ने भन्नेबारेमा छलफल गर्नेछौँ ।” किसानलाई क्षतिपूर्तिको व्यवस्था नभए किसान थप समस्यामा पर्ने भन्दै उनले चिन्तासमेत व्यक्त गरे ।
“यहाँ धेरैले आफैँ खानका लागिमात्र भए पनि र कतिपयले बिक्री गर्ने गरी हिँउदे तरकारी बाली आलु, प्याज, लसुनलगायतका खेती गरेका थिए । ठूलो असिनापानीले सबै क्षति गरेको छ ।” उनले भने । एउटै घरको न्यूनतम दुईदेखि तीनमुरीसम्म आलु क्षति भएको उनको भनाइ छ ।
स्थानीय किसान मनबहादुर घलेले गुनासो पोख्दै भने,“बारीमा गएर हेर्दा रुन मन लाग्छ । जौ र गहुँ त पूरै असिनाले छोपेर सेतै पो भएछ अब के खाने हो ? अलिअलि भएको पनि बटुल्नसक्ने अवस्था छैन । खानका लागि त छोड्दिनुस् अर्को वर्ष बीउ लगाउनका लागि अब कहाँ खोज्ने हो भन्ने अवस्था बारपाकका किसानहरुको भएको छ ।”
भौतिक संरचनामा क्षति
भीषण वर्षापछि आएको बाढीले बारपाकमा थुप्रै भौतिक संरचनामा क्षति पुगेको छ । “बारपाक स्वास्थ्यचौकीमा डाँडाबाट आएको भलसँगै आएको पहिरो छिरेर स्वास्थ्यचौकीको तारबारसहित पर्खाल बगाएको छ । स्वास्थ्यचौकीमा मात्र रु तीन लाखभन्दा बढीको क्षति भएको अनुमान छ” उनले बताए ।
त्यस्तै वडा नं १ मा रहेको श्री हिमालय माध्यामिक विद्यालयमा भलसँगै आएको बाढीले क्षति पुर्याएको छ । “बाढीले विद्यालयको तारबार, स्कुलको जग खोतलेर लगेको छ । ऐरेलपाखा खानेपानी आयोजनामा पानी र बाढीले क्षति पुर्याएको छ ।”उनले भने ।
प्रतिक्रिया दिनुहोस्