Shikhar Insurance
National Life

दुर्गम गाउँका स्थानीयवासीको भरोसा बन्दै कैना स्वास्थ्यचौकी

सिंहदरबार संवाददाता
२०८० चैत्र ११, आईतवार १७:००
Hyundai
NCELL
NIMB
सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–३ स्थित कैना स्वास्थ्यचौँकीको अवस्था पाँच वर्षअघिसम्म नाजुक थियो । यहाँबाट सामान्य स्वास्थ्योपचार सेवा प्रवाह गर्न पनि कठिन थियो । तर चार वर्षयता भने यसको मुहार फेरिएको छ । अभावकैबीच यस स्वास्थ्यचौँकीले दिने सेवा दुर्गमको भरोसा बन्दै गएको छ ।
सडक, खानेपानी र विद्युत्लगायत आधारभूत सुविधा यहाँसम्म पुगेको छ । हेमा पुनको नेतृत्वमा यस स्वास्थ्यचौकीमा चार महिला र दुई पुरुष स्वास्थ्यकर्मी कार्यरत छन् । पुन चार वर्षअघि इञ्चार्ज भएपछि स्वास्थ्य सेवामा धेरै सुधार भएको पाइएको छ । गत कात्तिक १७ गतेको भूकम्पमा परी स्वास्थ्यचौकीको भवनमा क्षति पुगे पनि टेन्टबाट अल्ट्रासाउन्ड, प्रयोगशाला (ल्याब), २४सैं घण्टा प्रसूति सेवा, परिवार नियोजन, किशोरकिशोरी मैत्री सेवा, क्षयरोग उपचार केन्द्र, सरुवा रोग नियन्त्रण सेवा र बहिरङ सेवा सञ्चालन हुँदै आएको छ ।
इमान्दार भएर काममा लाग्दा हरेक संस्था राम्रो बनाउन सकिने उदाहरण यही स्वास्थ्यचौकीको नेतृत्वले देखाएको स्थानीय नलगाड नगरपालिका–३ कैनाका प्रचण्ड ओलीले बताए । नगरपालिकाको केन्द्र दल्लीबाट पैदल चार घण्टाको दूरीमा रहेको कैना बाक्लो जनसङ्ख्या बसोवास भएको क्षेत्र हो । स्वास्थ्यचौँकी नजिक सूर्योदय माध्यमिक विद्यालय छ । दैनिक स्वास्थ्य संस्थाबाट विद्यालयमा समेत स्वास्थ्य सेवा प्रवाह हुने गरेको छ ।
स्वास्थ्य संस्थाको भवन अभावमा टेन्टबाटै स्थानीयलाई दिने सेवामा कुनै कमजोरी नरहेको स्वास्थ्यचौकी प्रमुख पुनले बताए । राति १० बजेसम्म पनि स्वास्थ्यचौकीमा खटिने गरेको उनको भनाइ छ । गाउँबाट बिरामी भएको खबर सुन्नेबित्तिकै स्वास्थ्यकर्मी अवस्था हेरेर घरमै पुगेर उपचारसमेत गर्ने गरेका छन् ।
प्रमुख पुनले भने,“दुर्गम गाउँमा स्थानीयवासी सबै स्वास्थ्य संस्था आउन सक्दैनन् । त्यसैले घरमै बोलाउँदा पनि गएर सेवा दिने गरेका छौँ ।”जिल्लाकै उत्कृष्ट सेवा प्रदान गरेको भन्दै अघिल्लो वर्ष कैना स्वास्थ्यचौकीले पुरस्कार पाएको छ । भूकम्पका कारण पूर्वाधार नहुँदा स्वास्थ्यचौकी सञ्चालनमा समस्या भएकाले भवन निर्माणका लागि पहल गरिदिन इञ्चार्ज पुनले आग्रह गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्