Shikhar Insurance
National Life

उपचारको पहुँचबाट बाहिरै छन् क्षयरोगी

सिंहदरबार संवाददाता
२०८० चैत्र ११, आईतवार १३:४२
Hyundai
NCELL
NIMB

बाँके । जनचेतनाको अभाव र उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाएर अझै पनि क्षयरोगका बिरामी उपचारको पहुँच बाहिरै रहेका छन् । सरकारले क्षयरोगविरुद्धको औषधि निःशुल्करूपमा उपलब्ध गराउँदै आएको छ । क्षयरोग नियमित उपचारले निको हुने गर्दछ ।

स्वास्थ्य कार्यालय बाँकेका क्षय–कुष्ठ रोग स्रोत व्यक्ति रवीन्द्रकुमार शाहले भने,“जनचेतनाको अभाव र उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाएर अझै धेरै बिरामी सम्पर्कमा नै आएका छैनन् । ती बिरामीलाई सम्पर्कमा ल्याएर उपचार गर्नु चुनौतीपूर्ण रहेको छ ।”चालू आर्थिक वर्षको सात महिनामा मात्रै बाँकेमा पाँच सय ३९ क्षयरोगीको पहिचान भएको स्वास्थ्य कार्यालयका क्षय–कुष्ठ रोग स्रोत व्यक्ति शाहले जानकारी दिए । त्यसमध्ये सबैभन्दा बढी क्षयरोगी नेपालगञ्जकै रहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालगञ्जमा एक सय ६३ नयाँ क्षयरोगी पत्ता लागेका छन् । समुदायमा अझै पनि क्षयरोगीप्रति घृणा र लाञ्छना रहेकाले पनि रोगीहरु लुकेर बस्ने गरेको पाइएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । उनले भने,“अझै पनि समाजमा क्षयरोगीप्रति हुने घृणा र लाञ्छना कायमै रहेको छ । क्षयरोगमुक्त अभियानमा समाजका सबै सरोकारवाला व्यक्ति र स्वयं बिरामी लाग्न जरुरी छ ।”

बाँकेमा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा एक हजार एक सय दुई क्षयरोगी पत्ता लागेका थिए । त्यसमध्ये नेपालगञ्जमा सबैभन्दा बढी तीन सय ३५ र नरैनापुरमा सबैभन्दा कम ७१ क्षयरोगी पत्ता लागेका थिए । स्वास्थ्य कार्यालयका प्रमुख अङ्गत शाहीले क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको बताए । प्रमुख शाहीले भने,“क्षयरोगका बिरामीको पहिचान, उपचार र पूर्णता महत्वपूर्ण रहेको छ । क्षयरोगबारे सचेत बनाउन सकियो भने नियन्त्रणमा ल्याउन सहज हुन्छ ।”

क्षयरोगका बिरामीको निःशुल्क उपचार गर्ने सरकारी नीतिअनुसार नेपालगञ्ज–४ सल्यानीवागमा नेपाल सरकारसँगको साझेदारीमा क्षयरोग प्रेषण केन्द्र सञ्चालन हुँदै आएको छ । क्षयरोग प्रेषण केन्द्रमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेको टिबी नेपाल क्षयरोग प्रेषण केन्द्र नेपालगञ्जका प्रबन्धक हिक्मतबहादुर खड्काले बताए ।

भाडाको भवनमा सञ्चालित प्रेषण केन्द्रमा ४५ शय्यामा बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको प्रबन्धक खड्काले बताए । प्रेषण केन्द्रमा ३५ देखि ४० बिरामी नियमितरुपमा उपचार प्रक्रियामा रहँदै आएको उनको भनाइ छ । “टिबी परीक्षणका लागि चाहिने उपकरण भए पनि उपकरण राख्ने कोठा छैनन्, बिरामीका कुरुवा बस्ने ठाउँ, शौचालय र पार्किङ व्यवस्थित गर्न सकिएको छैन । बजेट अभावमा अस्पताल सञ्चालनका लागि चाहिने मापदण्ड पूरा भएको छैन” उनले बताए ।

सरकारले टिबी नेपालसँग सहकार्य गर्दै २०५२ सालदेखि नेपालगञ्जमा भाडाको घरमा अस्पताल सञ्चालन गर्दै आएको छ । त्यहाँ वार्षिक ३५ हजारभन्दा बढी मानिस क्षयरोगको परीक्षण गर्न आउँछन् । अहिले मासिक ८० हजार भाडामा अस्पताल सञ्चालन गर्दै आएको प्रबन्धक खड्काले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्