Shikhar Insurance
National Life

मकैखेतीमा कैलालीका किसानको आकर्षण बढ्दै

सिंहदरबार संवाददाता
२०८० चैत्र ९, शुक्रबार १६:३५
Hyundai
NCELL
NIMB

टीकापुर । पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन थालेका छन् । तोरी बाली टिपेपछि तेस्रो बालीका रुपमा यस क्षेत्रका किसानले मकै खेती गर्ने गरेका हुन् ।

मकैखेती खाद्यान्नका साथै वस्तुभाउलाई दाना र घाँसका रुपमा प्रयोग गर्न सकिने भएकाले किसानको रोजाइमा पर्न थालेको स्थानीय बताउँछन् । सिँचाइ सुविधा भएका ठाउँका अधिकांश किसानले मकैखेती गरिरहेका छन् । यस वर्ष टीकापुर र जानकीका एक सय १५ किसानलाई मकैखेतीका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन इकाइले सहयोग गरेको छ । यसबाहेक आफ्नै लगानीमा खेती गर्ने किसानको सङ्ख्या पनि बढिरहेको इकाइ कार्यालयले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

टीकापुरका परम रेग्मीले पाँच कट्ठा जमिनमा खेती गरेका छन् । दुईवटा भैँसी पाल्नुभएका परमलाई मकै खेती गर्दा पशुपालनमा सहज भएको छ । “तोरीपछि मकै लगाएको छु । बारीबाट भैँसीका लागि घाँस, दानाको समेत जोहो भइरहेको छ । बचेको मकै बिक्री हुन्छ । अब गर्मी मौसममा हरियो घोगा बारीबाटै बिक्री हुन्छ ।”उनले भने । मकैको बजार सहज, खाना तथा पशुका दाना बनाउन, हरियो घोगा बेचेर नगद आम्दानी गर्न सकिने भएकाले किसानको रोजाइमा पर्न थालेको इकाइका वरिष्ठ बाली विकास अधिकृत कमल तामाङले बताए । उनले भने,“दानाका रुपमा पशुलाई खुवाउन अत्यधिक प्रयोग हुन थालेको छ । पहिला २० देखि २५ मा बिक्री हुनेमा अहिले ३५ देखि ४० सम्म पर्छ ।”

यस वर्ष रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सहयोगमा एक सय तीन हेक्टर जमिनमा मकै खेती भइरहेको छ । बाह्र हेक्टरमा हाइब्रिड जातको र ९१ हेक्टरमा वसन्ते जातको मकै खेती गरिएको इकाइका बाली विकास अधिकृत तामाङले बताए । प्रतिकिसानले न्यूनतम १५ कट्ठादेखि छ हेक्टरसम्म खेती गरेका उनले जानकारी दिए । तामाङले भने,“दुई बाली स्याहारिसकेपछि मकैखेतीमा किसान लागिरहेका छन् । उत्पादित मकै बिक्रीका लागि बजारको अभाव छैन । भारतमा समेत निर्यात हुने भएकाले किसान आकर्षित हुन थालेका छन् ।”मकैखेती गर्नका लागि किसानलाई आयोजना कार्यालयले बीउ, पोषक तत्व र यान्त्रिकीकरणमा सहयोग गरिरहेको बाली विकास अधिकृत तामाङले जानकारी दिए ।

“उत्पादन प्रयोजनार्थ प्रयोग हुने सामग्री तथा आवश्यक उपकरण, परामर्शलगायत सहयोग गरिरहेका छौँ । किसानको मागअनुसार मकै गोडमेल गर्ने मिनी टिलर उपलब्ध गराउँदै आएका छौँ ।”उनले बताए । राम्रो आम्दानी हुने भएकाले किसानले अनुदान सहयोग र आफ्नै लगानीमा अरुण, रामपुर कम्पोजित, राजकुमार पाइनेरियमलगायत जातका मकैखेती गर्ने गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्