काठमाडौं । ‘समृद्धिका लागि हरित ऊर्जा’ मुल नाराका साथ आयोजना भएको ‘हिमालयन हाइड्रो एक्स्पो-२०२४’ कार्यक्रममा दुई विधामा प्रतिस्पर्धा गराइने भएको छ । कार्यक्रम स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालीको संयुक्त आयोजनामा हुने भएको हो ।
उक्त एक्स्पोमा छोटो भिडियो बनाउने र हाइड्रोपवारका सामाग्री वा सेवासँग सम्बन्धित आइडिया प्रस्तुत गर्ने ‘जलविद्युत उत्पादन र सेवा प्रतियोगिता’रहेको छ । नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग पुग्ने गरी हरित ऊर्जाको महत्व दर्शाउन दुई विधामा प्रतिस्पर्धा गराउन लागिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए । प्रतिस्पर्धाका बिजेताले ४४/४४ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्ने र ९० सेकेण्डको भिडियोमा समृद्धिका लागि हरित ऊर्जाको महत्व दर्शाउनुपर्ने कार्कीले जानकारी दिए ।
उक्त भिडियोहरु आयोजक संस्था इप्पानको वेवसाइट (www.ippan.org.np), इभेन्ट व्यवस्थापक इभेन्ट सोलुसनको वेवसाइट (www.eventsolutionnepal.com.np), हिमालयन हाइड्रो एक्स्पोको वेवसाइट (www.himalayanhydroexpo.com) तथा अफिसियल सामाजिक सञ्जालहरु फेसबुक स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) , इन्स्टाग्राम, युट्युब, लिङ्कडिन लगायतमा पोस्ट गरिने र सबैभन्दा धेरै लाइक, शेयर र कमेन्ट पाउने भिडियोलाई प्रथम र दृत्तीय पुरस्कार प्रदान गर्ने कम्पनीले जनाएको छ ।
एक्स्पोको अवसरमा अयोजना गरिएको प्रतिस्पर्धाले हरित ऊर्जाले समग्र विकासमा पारेको प्रभावबारे सर्वसाधारणलाई जनचेतना दिनुका साथै ऊर्जा क्षेत्रमा प्रयोग हुने नयाँ नयाँ अवधारणाहरुको बारेमा जान्न र बुझ्न सहयोग पुग्ने इप्पानका महासचिव बलराम खतिवडाले बताए । ३ दिनसम्म सञ्चालन हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा १०० भन्दा धेरै स्वदेशी तथा विदेशी कम्पनीहरुका स्टल रहनुका साथै विभिन्न ७ वटा विषयमा सेमिनार सञ्चालन हुनेछन् । ५० हजार भन्दा धेरै अवलोकनकर्ताले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्