काठमाडौं । पुर्व अर्थमन्त्री जनार्दन शर्मा अर्थ मन्त्रालयबाट बाहिरिँदा उनी विवादित मात्रै भएनन्, विवाद र असफलताको मिसाल नै खडा गरि फर्किए । उनले अर्थ मन्त्रालय सम्हाल्दा आर्थिक ऐनमा चरम छेडखानी गरे, मनपरी गरे ।
विषयवस्तुमा ज्ञानको अभाव र विज्ञहरुसँगको दुरीका कारण उनले २ सय प्रतिशतले राजस्व बढाउने हावादारी घोषणा गर्दै हिडे । र राजश्वको आधा शताब्दी लामो इतिहासमा अघिल्लो बर्षको तुलनामा कम राजश्व उठाउने रेकर्ड पनि आफ्नै नाममा लेखाए ।
राजनितिक नेतृत्वमा बस्नेले सबै विषयवस्तु बुझ्नुपर्छ भन्ने होइन तर बुझेका मान्छेसँग सुझाव लिन सक्ने क्षमता पनि नहुँदा ‘जनार्दन शर्मा’ भइन्छ भन्ने दृष्टान्त स्थापित भैसकेको छ । राजनीतिक रुपमा पार्टी भित्र उनै जनार्दन शर्माका प्रतिष्पर्धी मानिने बर्षमान पुनले अर्थमन्त्रालय सम्हालेको तेश्रो हप्ता लागिसकेको छ ।
पुन पनि अर्थतन्त्रका प्राबिधिक ज्ञान भएका पात्र होइनन्, तर उनीसँग धैर्य गरि सुन्न सक्ने क्षमता रहेको उनका निकटवर्तीहरु बताउँछन् । समान राजनीतिक उचाई र पार्टी जिम्मेवारीमा रहेका जनार्दन र बर्षमान पुनले उस्तै अवस्थामा अर्थमन्त्रालयको नेतृत्व गर्ने अवसर पाएका हुन् ।
जसमा जनार्दन शर्मा पूर्णत असफल सिद्ध भैसकेका छन् भने पुनसँग इतिहास लेख्ने सुनौलो अवसर बाँकी नै छ । हुन त पुनका लागि अर्थमन्त्रालयको कमाण्ड यो दोश्रो इनिङ हो । १२ बर्ष पहिले अकस्मात अर्थमन्त्री बनेका पुनले आफुलाई पुष्ठि गर्न नपाउँदै, बजेट ल्याउन नपाउँदै मन्त्रालय छाड्नु परेको थियो ।
तर अहिले भने पुन आफैंले लामो मेहनत गरेर तयार पारेको गठबन्धनमा आफ्नै रोजाईको मन्त्रालयको जिम्मेवारी लिईरहेका छन् । पुनले भाँती पुर्याएर भने सुनौलो अक्षरले नाम लेखाउन सक्छन् र जनार्दन पथ समाते भने पुनको पनि राजनीतिक अवसान हुनेछ ।
पुनसामू अर्थतन्त्रले गुमाएको आत्माविश्वास फर्काउनु पर्ने चुनौतिको पहाड छ । अर्थतन्त्रका बाह्य परिसूचकहरु ठिकठाक जस्ता देखिए भने आन्तरिक सूचकहरु भने भयावह अवस्थामा छन् । राष्ट्रिय ढुकुटी एक खर्ब ३८ अर्ब भन्दा बढीले ऋणात्मक छ । राजश्व संकलन पनि निर्धारित लक्ष्यको ४५.५१ प्रतिशत अर्थात ६ खर्ब ४७ अबै(चैत ५ गते सोमबारसम्म) मात्रै उठेको छ । आयात घटिरहेको छ, आन्तरिक बजार पनि मागको कमिले चरम संकटको सामना गरिरहेको छ ।
भनिन्छ, सक्षमहरुका लागि चुनौती नै सबै भन्दा ठूलो अवसर हो । अर्थ मन्त्रालय आफैंमा एक प्राविधिक मन्त्रालय हो । यो मन्त्रालय संचालन गर्न विषय वस्तुमा गहिरो ज्ञान भएका मानिसहरु आवश्यक पर्छन् । हालको अर्थतन्त्रलाई बुझ्ने र सोहि अनुसारको नीति बनाउनु पर्ने दबाबमा मन्त्रालय छ । यसका लागि सबैभन्दा पहिले ठोकिने भनेको कर्मचारीतन्त्र नै हो ।
अर्थमन्त्रालयमा पछिल्लो समय मन्त्री परिवर्तन हुने बित्तिकै कर्मचारीहरुको सेट नै फेर्ने परिपाटी उत्कर्षमा छ । अझ कर्मचारीलाई पार्टीको बिल्ला भिराएर योग्य कर्मचारीलाई पाखा लगाएर आसेपासेलाई अवसर दिने प्रचलन पनि बढ्दो छ ।
पुनभन्दा अघिका अर्थमन्त्री प्रकाशशरण महतले पनि कर्मचारी अदल बदलमा रेकर्ड नै कायम गरेका थिए । उनले कुनै पनि कर्मचारीलाई ढुक्कसँग काम गर्न दिएनन्, अझ भनौं उनले कर्मचारीहरुमाथि ‘एक्सपेरिपेन्ट’ मात्रै गरिरहे । मन्त्री पुनले पनि प्राविधिक रुपले फिट नहुने कर्मचारीलाई सरुवा गर्ने बताइसकेका छन् । यतिबेला महतका पालामा मन्त्रालय आएका कर्मचारीहरु पनि सरुवाका लागि मनोवैज्ञानिक रुपले नै तयार भैसकेका छन् ।
माओवादी निकट भनेर चिनिएका कर्मचारीहरु भने मन्त्रालयमा आउन लाइन लागेर बसिरहेका छन् । अर्थमन्त्रीले राम्रो काम गर्ने चाहना राखे मन्त्रीलाई पार्टी निकट कर्मचारी नचाहिने एक पुर्व सचिव बताउँछन् । ती पूर्व सचिवले भने–‘कर्मचारी कुनै पार्टीका हुदैंनन्, सेवा अवधिभर एक कर्मचारीले सबै पार्टीका मन्त्रीहरुसँग काम गरिसकेका हुन्छन्, मन्त्रीको काम गर्ने इच्छा शक्ति भए जुनसुकै राम्रा कर्मचारीलाई ल्याएर काम गराउन सक्छन्।’
मन्त्रीका लागि यी हुन् सक्छन् सम्भावित पात्र
अर्थ मन्त्रालय राजस्व प्रशासनतर्फ सामान्यतया उपसचिवसम्म २ वर्ष पुरा नभई सरुवा नहुने प्रचलन छ । तर सहसचिव र सचिवका हकमा भने जुनसुकै बेला सरुवा हुनु नौलो बिषय मानिन्न । सचिव र सहसचिव क्षमतावान हुँदा मन्त्रालयले छुट्टै गतिमा काम गर्न सक्छ ।
अहिलेको गठबन्धनका लागि अर्थ सचिवका रुपमा लोक रिझ्याई, प्रभावकारी सेवा प्रवाह र डेलिभरीका लागि केहि सचिवलाई फिट मान्न सकिन्छ । त्यस्तो सूचिमा आउने नामहरु हुन् तथ्यांक कार्यालयमा रहेका तोयम राय, अख्तियार सचिव रामेश्वर दंगाल हुन् ।
अहिलेका राजश्व सचिव डा. राम प्रसाद घिमिरेले पनि अर्थ सचिवका लागि मरिहत्ते गरेको बताइन्छ । तर ‘लो प्रोफाइल’मा बस्न रुचाउने घिमिरेले अर्थमन्त्रालयको प्रशासकिय नेतृत्व गरेर मन्त्रीलाई ‘पार’ लगाउन नसक्ने सन्देश पुनसम्म पुगिसकेको स्रोत बताउँछ ।
सुदुरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारीमा रहेका रामकृष्ण सुवेदीलाई पनि अर्थ सचिवको दावेदार भन्न थालिएको छ । तर अर्थमन्त्रालय मातहतमा बसेर कहिल्यै काम नगरेका सुवेदीलाई अघि सार्दा अर्थ प्रशासन थप अन्यौलग्रस्त बन्ने भनेर मन्त्री पुन निकटस्थहरुले नै भन्न थालिसकेका छन् ।
हुन त पूर्व अर्थ सचिव अर्जुन पोखरेलले पनि पुनः अर्थमन्त्रालय फर्किने इच्छा राखेका छन् तर उनले आफुलाई अर्थ सचिवका रुपमा स्थापित हुने गरि कुनै काम नगरेको भन्ने सन्देश स्थापित भैसकेको छ । डा. प्रकाश शरण महतको बजेट बनाएका पोखरेलले अर्थ सचिवका रुपमा न मन्त्रालयभित्र कुनै छाप छाड्न सके, न त समाजले नै उनलाई अर्थ सचिवका रुपमा स्वीकार गर्ने अवस्था बन्यो । त्यसकारण यसपाली पोखरेलको अर्थ मन्त्रालय छिर्ने दोश्रो प्रयास भने असफल हुने पक्का जस्तै भैसकेको छ ।
रामेश्वर दंगाल भने राजश्व सचिवका रुपमा केहि समय काम गरेर अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव छन् । उनले भन्सार बिभागको समेत मुल नेतृत्व गरिसकेका छन् । त्यसकारण अहिले पुनका लागि तोयम राया र रामेश्वर दंगालमध्ये एक पात्र नै उपयोगी औजार हुन सक्छन् ।
यस्तो छ सह सचिवहरुको लर्काे
सहसचिहरु मध्ये हाल मन्त्रालयमै रहेका धनिराम शर्मा, श्रीकृष्ण नेपाल, शोभाकान्त पौडेल, दीर्घराज मैनाली, रितेश शाक्य लगायत सहसचिवहरु अब्बल क्षमताका छन् । यस्तै मन्त्रालय भन्दा बाहिरका सुमन दाहाल, मदन दाहाल, महेश भट्टराई अब्बल क्षमता र कम विवादित कर्मचारीहरु हुन् ।
यद्यपी यी कर्मचारीहरु मन्त्रीले आफैंले खोजेर राम्रा कामका लागि बोलाए भने मात्रै मन्त्रालय आउन तयार हुन्छन् । एक सहसचिवले भने–‘मन्त्री ज्यूले सहयोग गर्नुपर्यो भन्नुभयो भने आउने हो मलाई यहाँ लयाइदेउ भन्दै हामी जानेवाला छैनौं ।’
प्रतिक्रिया दिनुहोस्