काठमाडौं। इलेक्ट्रिक गाडीले आक्रामक रुपमा नेपालमा बजार विस्तार गरेको छ । सरकारले विद्युतिय गाडीलाई प्रोत्साहन गरेसँगै आयात बढेको हो । विद्युतिय गाडीको आयातमा वृद्धि भएसँगै धेरै भन्सार महसुल तिर्नेको पाचौं नम्बरमा विद्युतिय गाडी परेको छ ।
चालु वर्षको ८ महिनामा चीनबाट ९ अर्ब २४ करोड ६० लाख बराबरको विद्युतिय गाडी आयात भएको छ । ८ महिनामा ५१ किलोवाट देखी १ किलोवाट सम्मका ३२ सय ६० वटा गाडी आयात भएको हो । यसबाट सरकारले ७ करोड ७८ लाख राजस्व प्राप्त गरेको छ ।
यस्तै भारतबाट पनि २ हजार ४८ वटा विद्युतिय गाडी आयात भएको छ । जसलाई नेपाली व्यावसायीले ३ अर्ब ६६ करोड ५९ लाख बराबर तिरेका छन् । यसबाट सरकारले १ अर्ब ९ करोड ७१ लाख प्राप्त गरेको छ । अहिले नेपाली बजारमा चीनियाँ ब्राण्ड बीवाइडीले आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ । यस्तै दोस्रो नम्बरमा भारतीय ब्राण्ड टाटाले बजार विस्तार गरिरहेको छ ।
आयाततर्फ धेरै राजस्व तिर्ने वस्तुको पहिलो नम्बरमा डिजेल परेको छ । चालु वर्षको ८ महिनामा ८८ अर्ब ८८ करोडको बराबरको डिजेल आयात भएको हो । जसबाट ३४ अर्ब २४ करोड भन्सार महसुल संकलन भएको छ । यस्तै दोस्रो स्थानमा पेट्रोल परेको छ । यो अवधिमा ४४ अर्ब ६३ करोडको पेट्रोल आयात भएको छ । जसबाट २५ अर्ब ७३ करोड बराबरको राजस्व सरकारले प्राप्त गरेको छ ।
तेस्रो स्थानमा एलपीजी ग्याँस परेको छ । यो अवधिमा ग्याँस ३५ अर्ब ८७ करोडको आयात भएको छ । जसबाट ६ अर्ब ६९ करोड राजस्व संकलन भएको छ । धेरै राजस्व तिर्नेको चौथो नम्बरमा पेट्रोलिमय गाडी परेको छ । यो अवधिमा १ अर्ब ९७ करोड ५३ लाख बराबरको १७ सय ९७ वटा गाडी आयात भएको छ । जसबाट ५ अर्ब ७ करोड ७८ लाख भन्सार महसुल संकलन भएको छ ।
पाचौं स्थानमा विद्युतिय गाडी पर्दा, छैटौं स्थानमा ५० सीसीदेखी १ सय ५० सीसी सम्मको मोटरसाइकल परेको छ । यो अवधिमा ३२ हजार ९ सय १९ वटा मोटरसाईकल आयात भएको छ । यसको लागि ३ अर्ब ८ करोड भारतीय बजारमा नेपाली व्यावसायीले खर्च गरेका छन् । जसबाट ३ अर्ब ६७ करोड ३२ लाख राजस्व संकलन भएको छ ।
यस्तै फलामको कच्चा पदार्थ धेरै राजस्व तिर्नेको सातौं नम्बरमा परेको छ । यो अवधिमा २५ अर्ब ९१ करोड ४१ लाख बराबरको आयात भएको छ । जसबाट ३ अर्ब ६५ करोड ५९ लाख राजस्व संकलन भएको छ । यस्तै आठौं नम्बरमा स्मार्टफोन परेको छ । यो अवधिमा ९ लाख १८ हजार २४ वटा स्मार्टफोन आयात भएको छ । यसका लागि नेपाली व्यावसायीले १३ अर्ब २९ करोड रुपैयाँ खर्चिएका छन् । यस्तै राजस्व २ अर्ब ४८ करोड दाखिला भएको छ ।
यस्तै नवौं नम्बरमा क्रुड सनफ्लावर तेल परेको छ । यो अवधिमा १० अर्ब ४ करोड मूल्य बराबरको तेल आयात भएको छ । जसबाट २ अर्ब ३३ करोड ९८ लाख राजस्व संकलन भएको छ । धेरै भन्सार महसुल तिर्नेको १० औं नम्बरमा मार्बल परेको छ । यो अवधिमा ३ अर्ब ४८ करोड २४ लाख बराबरको मार्बल आयात भएको छ । जसबाट २ अर्ब ३२ करोड ७३ लाख राजस्व संकलन भएको छ ।
१० धेरै राजस्व तिर्ने वस्तुहरुको ८ महिनामा कुल आयात २ खर्ब ३६ अर्ब ४४ करोड बराबरको छ । यस्तै १० बस्तुबाट कुल ९० अर्ब ७७ करोड १८ लाख महसुल संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस्