काठमाडौं । १७ औं ‘अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१’ वैशाख २६ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले वैशाख २६ देखि ३० गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।
कोरोनापछि विश्वभर आएको आर्थिक मन्दीको प्रभावबाट प्रभावित नेपाली उद्योगहरुको वर्तमान अवस्था झल्काउनु र उनीहरुको व्यापार प्रवर्धन गर्न सहयोग पुर्याउने उद्देश्यका साथ मेला आयोजना हुदैँछ । मुलुकभरका झण्डै ६ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रदर्शनीले प्रतिबिम्बित गर्ने महासंघका अध्यक्ष उमेशप्रसाद सिँहले जानकारी दिए ।
प्रदर्शनीले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुने बताइएको छ । प्रदर्शनीमा सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने महासंघले जनाएको छ । प्रदर्शनीमा २५० वटा स्टल रहने र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने ७ करोड रुपियाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको अध्यक्ष सिंहले बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने प्रदर्शनीको सह–आयोजकको रुपमा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय–लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, बागमती प्रदेश सरकार अन्तरगत उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालय, काठमाडौं महानगरपालिका, नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलगायत विभिन्न सरकारी निकाय तथा विभिन्न उद्योग, बैंक तथा व्यवसायिक संघसंस्थासँगको सहकार्यमा मेला आयोजना हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्