बाँके । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइबाट बाँके जिल्लाको २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ ।
४२ हजार सात सय ६६ हेक्टर जमिनमा सिँचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ आर्थिक वर्ष २०६२/६३ मा सरकारको स्रोतबाट निर्माण सुरु भएको आयोजनाले हालसम्म लक्ष्यको आधा प्रगति हासिल गरेको आयोजना कार्यालयले जानकारी दिएको हो ।
आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म पश्चिमी मूल नहरतर्फ १७ हजार हेक्टर, सिधनिया शाखामा एक हजार हेक्टर र पूर्वी मूल नहरतर्फ चार हजार हेक्टर गरी २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इञ्जिनियर सन्देश पौडेलले जानकारी दिए ।
आयोजनाको निर्माणाधीन पश्चिमी मूल नहरले बाँकेको राप्ती नदी पश्चिम भेगको ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ सूचना अधिकारी पौडेलले भने आयोजना सुरु भएदेखि हालसम्म समष्टिगत भौतिक प्रगति ४०.२२ प्रतिशत र वित्तिय प्रगति ३९.३८ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आयोजनाले पुँजीगततर्फ विनियोजित बजेटको ४०.१० प्रतिशत वित्तिय प्रगति गरेको छ । विनियोजित ७५ करोड ४८ लाखमध्ये फागुन मसान्तसम्म ३० करोड २६ लाख ३२ हजार खर्च भएको इञ्जिनियर पौडेलले जानकारी गरे ।
चालु आवमा आयोजनाको पूर्वी मूलनहरको बाँकी काम गर्न ठेक्का व्यवस्थापनका लागि पूर्वतयारी हुँदैछ उनले भने पश्चिमी मूल नहरतर्फका प्रसेनीपुर, अकलघरुवा र गोहवा शाखाको ठेक्का सम्झौता भई निर्माण सुरु गर्ने, गुरुवागाउँ शाखाअन्तर्गत नहर निर्माण, जग्गा अधिग्रहणसम्बन्धी काम र अन्य शाखाको ठेक्का व्यवस्थापनलगायत पूर्वतयारीको काम सुरु हुनेछ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी जिल्लाको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन आयोजना निर्माण गरिएको आयोजनाका निर्देशक देवराज निरौलाले बताए ।
आव २०६२/६३ मा सुरु भएको आयोजना संशोधित गुरुयोजना अनुसार आव २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य रहेको उनले जानकारी गरे । उनका अनुसार संशोधित गुरुयोजनाअनुसार आयोजनाको लागत ५२ अर्ब ८९ करोड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्