पर्वत । मुस्ताङमा उत्पादित स्याउ अहिलेसम्म पनि एक शीत भण्डार (कोल्ड स्टोर)मा भण्डारण गरिएको छ । कुश्मा नगरपालिका–९ कटुवाचौपारीका रामबहादुर पौडेल क्षेत्रीले सञ्चालन गरेको माछापुच्छ्रे कागती फार्मको शीत भण्डारमा मुस्ताङ्गी स्याउ भण्डारण गरिएको हो ।
बेमौसममा बजारमा बिक्रीका लागि पठाउने उद्देश्यले गत असोजमा मुस्ताङबाट स्याउ खरिद गरेर ल्याइएको थियो । पाँच महिनासम्म शीत भण्डारमा राखिएको भए पनि स्याउ ताजै अवस्थामा रहेका छन् । भण्डारण गरिएका स्याउ बजारमा पठाउने तयारी भइरहेको छ । क्षेत्रीका अनुसार लागतअनुसार मुस्ताङको स्याउको मूल्य अहिले ४ सयभन्दा बढी प्रतिकिलो पर्न जान्छ । व्यवसायीले भने उक्त मूल्यमा खरिद गर्न आनाकानी गर्ने गरेको क्षेत्रीले बताए ।
उनले १ सय ८० प्रतिकिलो खरिद गरेर ल्याएका थिए । उनको शीत भण्डारमा अहिले एक हजार पाँच सय किलो स्याउ भण्डारण भएको क्षेत्रीले बताए । बेमौसममा बजारमा पठाउँदा उच्च प्रतिफल पनि पाइने र मुस्ताङको स्याउका लागि बजार अभाव पनि नहुने सोचेर भण्डारण गरेको भए पनि अहिले बजार नपाएको उनको गुनासो छ । आयातित स्याउभन्दा महङ्गो मूल्य पर्ने भएकाले फलफूल व्यवसायीले आफ्नो स्याउ खरिद गरेर बिक्री गर्न आनाकानी गर्ने गरेको क्षेत्रीको गुनासो रहेको छ । उपभोक्ताले पनि गुणस्तरीय फलफूलभन्दा सस्तो र आयातित नै रोज्ने गरेका कारण स्याउ बिक्री गर्न समस्या भएको क्षेत्रीले बताए ।
उनले भने,“सदरमुकाम कुस्मा र पोखराका व्यवसायीसँग स्याउ बिक्रीका लागि सम्पर्क गरेको भए पनि उनीहरुले आनाकानी गर्ने गरेका छन् ।”व्यावसायिक कागतीखेती गर्दै आएका क्षेत्रीले गत वर्ष गण्डकी प्रदेश सरकारको अनुदानमा शीत भण्डारण निर्माण गरेका थिए । कागतीको मौसम नभएका बेला स्याउ खरिद गरेर भण्डारण गरे पनि अहिले बिक्री गर्न समस्या भएको उनको गुनासो छ । उनले विगत १० वर्षदेखि २० रोपनी क्षेत्रफलमा व्यावसायिक कागतीखेती गर्दै आएका छन् । उनको बगानमा अहिले झन्डै एक हजार कागतीका बिरुवा रहेका छन् ।
कागती उत्पादनमा अब्बल कृषक बनेको भन्दै प्रदेश सरकारले ६० प्रतिशत अनुदानमा उनलाई शीत भण्डार उपलब्ध गराएको थियो । उनको फार्म कागतीको बेर्ना उत्पादनको स्रोत केन्द्रका रुपमा समेत कृषि ज्ञान केन्द्रले मान्यता दिएको छ । यस वर्ष १४ हजार बेर्ना उत्पादन भइरहेको क्षेत्रीले बताए । क्षेत्रीले कागतीसँगै जिल्लामै पहिलोपटक व्यावसायिक कुरिलोखेतीसमेत गर्दै आएका छन् । कागती, कागतीका बेर्ना, कुरिलो र माहुरीपालन समेत गर्दै आएका क्षेत्रीले वार्षिक खर्च कटाएर १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
लामो समयसम्म राजधानीमा व्यापार व्यवसाय गर्दै आएका क्षेत्रीले गाउँमा बाँझो रहेको जमिन सदुपयोग गर्ने र बेरोजगार युवायुवतीलाई स्वरोजगार सृजना होस् भन्ने उद्देश्यले गाउँ फर्किएर कागतीखेती सुरु गरेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्