स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँलास्थित एकै परिवारले ३५ लाख रुपैयाँको सुन्तला उत्पादन गरेर बिक्री गरेका छन् । सफल सुन्तला उत्पादक किसानको पहिचान बनाएका ८२ वर्षीय किसान देवीप्रसाद भण्डारीका छोराहरूले यस वर्ष ३५ लाखरुपैयाँ को सुन्तला उत्पादन गरेर बिक्री गरेको बताएका हुन् ।
उनले करिब १ हजार सुन्तलाको बोट हुर्काएर छोराहरूलाई हस्तान्तरण गरेको बताए । भण्डारीले करिब ४० वर्षदेखि परम्परागतरूपमा सुन्तला लगाउँदै आएका हुन् । चिन्दै नचिनेका मान्छेहरू स्याङ्जाबाट आएर यहाँ सुन्तला हुन्छ भनेर हौसला दिए देवीप्रसादले भने पहिला परम्परागतरूपमा लगायौँ भने २० वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आएका छौँ । उनले हालसम्म छोराहरूले ३ हजार सुन्तलाका बोट पुर्याएको दाबी गरे ।
देवीप्रसादका छ भाइ छोरामध्ये तीनभाइले सुन्तलाखेती गर्दै आएका छन् । भण्डारीको काइँलो छोरा ताराप्रसादले यस वर्ष मात्रै २० लाखको सुन्तला उत्पादन गरेर बिक्री गरे ।
उनले अघिल्लो वर्ष १६ लाखको सुन्तला उत्पादन गरेका थिए । यस वर्ष जेठो छोरा डोलराज भण्डारीले १० लाख र साइँलो छोरा कमलले पाँच लाखको सुन्तला उत्पादन गरेर बिक्री गरे । उनीहरुले पनि अघिल्लो वर्ष करिब १० लाखको सुन्तला बिक्री गरेका गिए ।
तीन वर्षपहिले सिम्रन कृषि तथा पशुपालन फार्म दर्ता गरेरै सुन्तलाखेतीलाई व्यवस्थित गरेको ताराप्रसादका छोरा कविराजले बताए । उनका अनुसार हाल आफ्नो बगैँचामा उत्पादन दिने एक हजार बोट छन्भने बिरुवा र उत्पादन दिने तयारीका करिब एक हजार बोट छन् । एक हजार बोट नयाँ बिरुवा लगाउन खाल्डा तयारी अवस्थामा रहेको कविराजले बताए ।
उनले पुराना बोट मासेर नयाँ लगाएका कारण यो वर्ष सुन्तला उत्पादन सोचेजस्तो नभएको सुनाए । उनले काउली, बन्दा, अकबरे खुर्सानीलगायत तरकारी बिक्री गरेर वार्षिक रु तीन लाख बिक्री गर्दै आएको बताए । खेती किसानीमा सबै परिवार आबद्ध छौँ । काम गरेअनुसारको प्रतिफल पनि छ कविराजले भने तर पनि कहिलेकाहीँ सबै विदेश जाँदा विदेश जाने रहर जाग्न थालेको छ ।
कविराजको हजुरआमा उमादेवी भण्डारीले विदेशको कमाई जित्न सक्ने यहाँ सुन्तला उत्पादन हुने बताए । यहाँ सुनसरह सुन्तला फल्छन् तर पनि नातिहरू विदेश जान्छौँभन्दा मन अमिलो हुन्छ उनले दुखेसो पोख्ए । हामीलाई सम्पत्ति पुग्दो छ, केही चाहिएको छैन, बुढेसकालमा छोरानातिसँगै बस्न पाए मनै हलुङ्गो हुन्थ्यो ।
यहाँ उत्पादित सुन्तला काठमाडौं, बुटवल, पोखरा, कावासोती, इटहरी, धादिङ, इनरुवालगायत जिल्लामा निर्यात हुने गरेको छ । ठेकेदारहरू गाडी नै लिएर सुन्तला खरिद गर्न आउँछन् । यहाँका किसानले पनि ‘ग्रेडिङ’ गरिएको सुन्तला ६० देखि १ सय २० सम्ममा ठेकेदारलाई थोक मूल्यमा बिक्री गर्ने गरेका छन् ।
किसान ताराप्रसादले सिँचाइको चरम अभावका कारण यहाँको माटो र हावापानीअनुसार सुन्तला उत्पादन नभएको गुनासो गरे । सिँचाइको सुविधा मात्र भए ५० प्रतिशतले उत्पादन बढाउन सकिन्थ्यो उनले भने जिल्लामै सिरौँसा सुन्तला उत्पादनका लागि प्रख्यात भए पनि सरकारी निकायबाट त्यति राम्रो सहयोग पाएका छैनौँ । ताराप्रसादले सिँचाइ, बिरुवा, उपचार, अनुदान, बजारीकरण, परामर्शलगायत सहयोग पाए आफूहरूलाई ठूलो राहत मिल्ने बताए ।
सुन्तला पकेट सञ्चालक समिति सिरौँसाका अध्यक्ष रामप्रसाद भण्डारीले सिरौँसामा अघिल्लो वर्ष २ करोडको सुन्तला बिक्री भएको बताए । उनले अघिल्लो वर्ष सुन्तला पकेट क्षेत्रमा आबद्ध ६० जना किसानले २ करोड ५० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेको दाबी गरे ।
वि.सं २०७० देखि यहाँ सुन्तला पकेट क्षेत्र घोषणा गरेर ‘सुन्तला पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जा, सुन्तला सुपर जोन स्याङ्जा, बाली संरक्षण कार्यालय पोखराले सिरौँसामा सुन्तलासम्बन्धी प्रशिक्षण, अनुदान, परामर्श, बीउबिजनमा सहयोग गर्दै आएको छ ।
ती निकायले पक्की ट्याङ्की, प्लास्टिक ट्याङ्की, प्लास्टिक पोखरी निर्माण गरिदिएका छन् । यहाँ सुन्तला आइपिएम पाठशालासमेत सञ्चालनमा छ ।
प्रतिक्रिया दिनुहोस्