डोटी । डोटीको जोरायल गाउँपालिकामा ‘जोरायली बासमती धान’को व्यवसायीक खेती हुन थालेको छ । ‘जोरायली बासमती धान’को चामल भात खानामा स्वादिलो, नरम र बास्नादार रुपमा चर्चा कमाउन थालेपछि धानको व्यवसायीक खेती हुन थालेको हो ।
बासमती धान बिक्री गर्नका लागि बजारको समस्या छैन । उत्पादित भएको धान सबै बिक्री हुन्छ । बासमती धान रोप्ने किसानले मात्रै नभएर धान खरिद गरी बिक्री गर्ने व्यवसायीले पनि राम्रो आम्दानी गर्न थालेका छन् । स्थानीय मिलले किसानबाट धान खरिद गरी चामल बनाई प्याकिङ गरेर बिक्री गर्ने गरेका छन् । एउटै मिलले वर्षमा लाखौँको कारोबार गर्दछन् ।
जोरायल –४ सिलङ्गीबागमा रहेको पिनाकेश्वर कुटानी पिसानी मिलले वर्षमा ३० देखि ३५ लाख रुपैयाँको कारोबार गर्छ । वि.सं २०६९ मा स्थापना भएको यो मिलले बाह्रै महिना बासमती धानको खरिद तथा चामल बिक्री गर्दै आएको मिल सञ्चालक टेकबहादुर मडैले जानकारी दिए ।
किसानबाट खरिद गरेको धान मिलमा कुटेर ग्रेडिङ गरी प्याकिङ गरेर बिक्री गर्दै आएको उनले बताए । हामी किसानबाट बासमती धान प्रतिकिलो ६५ देखि ७० रुपैयाँमा खरिद गर्छौँ र चामल प्रतिकिलो १ सय २५ देखि एक सय ३० मा बिक्री गर्छौँ व्यवसायी मडैले जानकारी गरे ।
मडैजस्तै बासमती चामलको व्यापार गर्दै आएका ग्वासी समैजी मिलका सञ्चालक भरत बोहरा पनि वर्षमा करिब १० लाख रुपैयाा बराबरको कारोबार गदैआएको बताए । उनले दुई वर्षयता जोरायली बासमती चामलको व्यापार गरेका छन् । यो चामलको माग बर्सेनि बढ्दै जान थालेपछि माग भए जति मागकर्तालाई उपलब्ध गराउन सक्ने अवस्था नरहेको उनले बताए । उनले भने चामलको माग धेरै हुन्छ, ग्राहकले माग गरेभन्दा आधा घटाएर दिनुपर्छ, जस्तै एक सय किलो माग भएमा ५० किलो उपलब्ध गराउँछौँ ।
मडै र बोहराजस्तै यहाँका अन्यले बासमती चामलको व्यापार गरिरहेका छन् । व्यापारीहरू पाँच, दश, २५ र ५० किलोको प्याकेटमा प्याकिङ गरेर चामल बिक्री गर्छन् । जोरायलमा उत्पादन भएको बासमती चामलको मुख्य बजार फल्टुडे, सहजपुर, बुडर, अत्तरिया, धनगढी, महेन्द्रनगर लगायतका बजार हुन् । मिलमा प्याकिङ भएको चामल प्रायः थोकमा बिक्री हुन्छ ।
यो धान वर्षमा १ करोडभन्दा बढी गाउँपालिकाबाट बिक्री हुने गरेको जोरायल गाउँपालिकाको अनुमान छ । गाउँपालिकाले ‘जोरायली बासमती धान’लाई अग्र्यानिक ब्राण्ड बनाउन लागेको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।
हालसम्म बासमती धानको बीउ संरक्षण, खेती विस्तारजस्ता काम गरिरहेको गाउँपालिका अब अग्र्यानिक ब्राण्ड बनाउन लागेको उनले बताए । अध्यक्ष ओझाले भने बासमती धानको लागि बजारको अभाव छैन, यसलाई अग्र्यानिक ब्राण्डका रूपमा विस्तार गर्न खोजिरहेका छौँ, सम्भवतः एक महिनाभित्रै यो कामले सफलता पाउनेछ ।
जोरायलको समथर जग्गाको नदी छेउका फाँटको हावापानीमा बासमती जातको धान उत्पादनका लागि उर्वर भूमि मानिन्छ । जोरायल क्षेत्रको धन्नास, बगडीगाउँ, जिजिकोट, सिलङ्गीबाग, सुगाँल, राउतकट्टे, चनकट्टे, थापाली, स्याला लगायतका ठाउँमा यो धानको खेती गरिन्छ । पछिल्लो समय यो धानको बीउ हराउने डरमा गाउँपालिका र किसान बीउ संरक्षणमा लागेका छन् ।
प्रतिक्रिया दिनुहोस्