काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नीतिगत सुधारमा ध्यान दिने बताएकी छिन् । सोमबार आफ्नो निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नम्बर ३ मा पुगेकी मन्त्री चौधरील नीतिगत सुधारमा ध्यान दिने बताएकी हुन् ।
उनले आफ्नो मन्त्रालय मानव जीवनसँग सम्बन्धित संवेदनशील मन्त्रालय भएको उल्लेख गर्दै महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुको हितका निम्ति नीतिगत परिमार्जन गर्नु आफ्नो प्राथमिकता हुने बताइन् ।
उनले सातै प्रदेशमा वृद्धहरुका लागि वृद्धाश्रम खोल्ने र छोराछोरीले आफ्नो कमाईको ११ प्रतिशत बुबाआमालाई दिनैपर्ने नीति ल्याउने योजनामा रहेको बताइन् । उनले महिला हिंसाका घटनाहरु हेर्नका लागि सबै स्थानीय तह र जिल्लामा छुट्टै महिला विभाग गठन गर्ने बारेमा आफु परामर्शमा रहेको जानकारी गरिन् ।
उनले भनिन्,‘कामको सुरुवात गर्दा नीतिगत परिमार्जनमा मेरो पहिलो कार्यभार अथवा जिम्मेवारी रहनेछ । त्यतातिर ध्यान दिनेछु । मानव संवेदनशील मन्त्रालय भएको हुनाले त्यसको लागि काम कसरी गर्ने ? सातै प्रदेशमा वृद्धहरुको लागि वृद्धाश्रम खोल्ने । दिनानुदिन महिला हिंसाको घटना, चेलिबेटी बलात्कार भएको घटना दिनानुदिन देख्छौँ ।
साथै, बालविवाह, छोरीचेली बाहिर लगिदिने घटना पनि भएकाले जघन्य अपराध गर्नेलाई कडा सजाय नीतिमै ल्याइदियो भने अलिकति डर हुन्छ । महिलाको नीतिमा परिमार्जन गर्ने । अनुगमन गर्ने । ७५३ वटै स्थानीय तहमा महिलाको विभाग छुट्टै हुनुपर्छ । जसले वस्तुगत अनुगमन गरोस् । महिला हिंसाको घटना हेर्नका लागि । महिला विकास विभागहरु जिल्लामा अगाडी बढाउनुपर्छ भन्ने सोचेको छु ।’
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्