Shikhar Insurance
National Life

मोटरसाइकल मोडिफाइ गरेर चलाउने ७ सय ५० चालक कारबाहीमा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २८, सोमबार १६:५७
Hyundai
NCELL
NIMB

गण्डकी । पोखरामा गत साउनयता मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइ) गरेर चलाउने ७ सय ५० जना चालक कारबाहीमा परेका छन् । आइतबार मात्र स्वरुप परिवर्तन गरिएका १२ वटा मोटरसाइकलाई नियन्त्रणमा लिइएको हो ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार स्वरुप परिवर्तन गरिदिने वर्कसप सञ्चालकलाईसमेत कारबाही गर्न सुरु गरिएको छ । उनले भने,“पोखराका विभिन्न ठाउँबाट पक्राउ परेका आठ जना वर्कसप सञ्चालकलाई सम्झाइबुझाइ गरी आगामी दिनमा मोटरसाइकलको स्वरुप परिवर्तन नगरिदिने प्रतिबद्धता गराएर छाडिएको छ । मोटरसाइकल वर्कसप पनि हाम्रो निगरानीमा छन् ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्वरुप परिवर्तन गरिएका मोटरसाइकलले ध्वनि प्रदूषण र दुर्घटनाको जोखिम बढाएकाले प्रचलित कानुनअनुसार कारबाही गरिएको प्रहरी निरीक्षक शर्माले बताए । “स्वरुप परिवर्तन गरेर चलाउने दुईपाङ्ग्रे सवारीविरुद्ध कारबाहीको अभियान नै चलाइएको छ । कतिपयलाई ट्राफिक नियमअनुसार जरिवाना गर्छौ, कोहीलाई थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाउने गरिएको छ ।”उनले भने ।

पहिलोपटक नियन्त्रणमा लिइएकालाई मोटरसाइकललाई आफ्नै स्वरुपमा फर्काउन लगाइ जरिवाना तिराएर छाड्ने गरिएको छ । पटक–पटक पक्राउ पर्नेलाई भने सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाउने गरिएको प्रहरीले जनाएको छ । स्वरुप परिर्वतन गरिएको दुईपाङ्ग्रे सवारीको कारबाहीबाट चालु आवमा ७ लाख ५० हजारभन्दा बढी जरिवाना रकम उठेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

मोटरसाइकलनमा अनावश्यक रङ्गरोगन गर्ने, लुकिङग्लास, सक, ह्याण्डल, इञ्जिनलगायत परिवर्तन गर्ने, चर्को ध्वनि निकाल्ने पाटपुर्जा जडान गर्ने चालकलाई नियन्त्रणमा लिने गरिएको उनको भनाइ छ । पोखरामा ट्राफिक नियमलाई चुनौती दिँदै स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने बढेपछि त्यसविरुद्ध प्रहरीले सक्रियता बढाएको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्