Shikhar Insurance
National Life

कैलालीका दुई सय १२ किसान जडीबुटीखेतीमा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २७, आईतवार ११:०८
Hyundai
NCELL
NIMB

टीकापुर । कैलालीको टीकापुर, लम्की–चुहा, जानकी, भजनी र बर्दगोरिया पालिकाका दुई सय १२ किसान जडीबुटीखेतीमा लागेका छन् । धान, तोरीपछिको तेस्रो बालीका रूपमा जडीबुटीखेती गर्न लागेका हुन् ।

टीकापुरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीबाट बीउ लगेर जडीबुटीखेती गरिरहेका छन् । यस वर्ष जडीबुटी कम्पनीले मेन्था तेल उत्पादन चार हजार किलो लक्ष्य राखेको छ । अहिलेसम्म ५६ लाखको तेल उत्पादन भइसकेको कम्पनीले जनाएको छ । “एक सय ५२ किसानले मेन्थाखेती गर्नुभएको छ भने ५५ किसानले युक्यालिप्टसखेती गर्नुभएको छ । यस्तै पाँचजना किसानले क्यामोमाइलखेती गर्नुभएको छ” कम्पनीका टीकापुर प्रमुख कमल बेल्वासेले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने,“तेस्रो बालीका रूपमा ९० दिनमा प्रतिकठ्ठा कम्तीमा ७ हजार प्रतिफल लिन सकिन्छ । कम्पनीले किसानको जडीबुटी निःशुल्क प्रशोधन गर्ने गरेको छ भने किसानको उत्पादन कम्पनीले नै खरिद गर्ने गरेको छ ।” बीउ उत्पादनका लागि कम्पनीले आफैँ खेती गरे पनि तारबारको अभावमा संरक्षण हुन नसकेको प्रमुख बेल्बासेले बताए । यसरी जडीबुटी उत्पादन गर्नेमा टीकापुर नगरपालिकाका किसान धेरै छन् । किसानले बजार खोज्नु नपर्ने भएपछि जडीबुटीबाट आम्दानी लिन सहज भएको स्थानीय किसानको भनाइ छ ।

“अघिल्लो वर्ष रु सात हजारको बीउ किनेर मकैखेती गर्दा जम्मा रु १२ हजारको मकै भयो, यस वर्ष मकैखेती नगरेर एक बिघा जग्गामा मेन्थाखेती गरेको छु । तेस्रो बाली हो, अरु खेती गर्नुभन्दा जडीबुटीखेती गर्दा राम्रो हुन्छ ।”टीकापुर–१ वनगाउँका किसान दिलबहादुर चौधरीले भने । जडीबुटीखेती गर्न किसान तयार भए पनि बीउलगायत अन्य सुविधा नभएका कारण समस्या भएको चौधरीले बताए ।

एक कठ्ठा जमिनमा तीनदेखि पाँच लिटरसम्म मेन्थाको तेल उत्पादन हुने जनाइएको छ । मेन्थाबाट प्रशोधित तेल प्रतिलिटर रु एक हजार चार सय, यूक्यालिप्टस प्रतिलिटर १ हजार एक सय ५० र केमोमाइल १९ हजार प्रतिकिलोमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी टीकापुरले खरिद गर्ने गरेको छ । कम्पनीसँग टीकापुरमा साढे चार बिघा जग्गा छ । यही जगामा किसानका लागि आवश्यक पर्ने बीउ उत्पादन गर्ने गरेको छ । अन्य उत्पादनमा अनुदान पाएपछि तीन वर्षअघिदेखि जडीबुटीखेती गरिरहेका किसानले जडीबुटीखेती गर्न छाडेका थिए । यस वर्ष पुनः जडीबुटीखेतीमा लागेको स्थानीय किसानको भनाइ छ ।

प्रशोधन कम्पनीसँग जडीबुटी प्रशोधन गर्ने दुई थान मेसिन थिए । खेती गर्ने किसान बढेपछि जडीबुटी प्रशोधन कम्पनीले छ वर्षअघि करिब १ करोड ५० लाखमा अत्याधुनिक थप चार मेसिन बढाएर छ थान पुर्याएको छ । जडीबुटीखेती अन्नबालीभन्दा सजिलो र नगदेबाली भएकाले किसानको आकर्षण बढेको उनीहरूको भनाइ छ ।

कम्पनीले स्थानीयलाई रोजगार पनि दिएको छ । कम्पनीको टीकापुर शाखामा नियमितरूपमा ३० दैनिक ज्यालादारीमा र सात जना स्थायी कर्मचारी छन् । जडीबुटी उद्योगसँग रहेको छ प्रशोधन मेसिन दैनिक १६ घण्टा चल्छन् । कम्पनीले दैनिक ५० टन जडीबुटी प्रशोधन गर्न सक्ने कम्पनीका प्रमुख बेल्वासेले बताउनुभयो । “जेठ र असारमा मेन्था, फागुन र चैतमा क्यामोमाइल प्रशोधन गरिन्छ । अन्य समयमा कोरा जडीबुटी सङ्कलनको काम गर्छौँ”, उनले भने ।

“मेन्थाबाट सञ्चो, हिमालयन मसाज तेल, पाउडर, साबुन उत्पादन हुन्छ । सञ्चो र मसाज तेल स्वदेशमा राम्रो खपत भइरहेको छ । केमोमाइलबाट प्रशोधित तेल भने विदेशमा खपत हुने गरेको छ । मेन्था र केमोमाइलबाट उत्पादित तेल दर्जनौँ औषधि तथा चकलेटमा प्रयोग हुन्छ ।” कम्पनीका प्रमुख बेल्वासेले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्