Shikhar Insurance
National Life

सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै महिला

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २५, शुक्रबार १२:५०
Hyundai
NCELL
NIMB

मनाङ । हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन् । नासो गाउँपालिका–१ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका हुन् ।

जिल्लामा आलुलाई प्रमुख खेतीका रूपमा मानिने भएकाले व्यावसायिक आलु उत्पादनबाट यहाँका महिला आत्मनिर्भर बन्दै गएका स्थानीय तिरकाशी घलेले बताए । उनले भने,“जग्गा भाडामा लिएर सामूहिक आलुखेती गर्न थालेका छौँ । एघार जना महिलाको समूह बनाएर १० रोपनी जग्गामा खेती गरिरहेका छौँ ।” सामूहिक खेतीले आलु आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने आशा गरिएको उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“यहाँ आलुखेती प्रशस्त हुने भएकाले यसतर्फ आकर्षित भएका हौँ । उत्पादन हुन थालेपछि आलुको बजारमा माग पनि बढिरहेको छ । उत्पादित आलु यहीँ खपत भइरहेको छ”, स्थानीय घलेले भने । जिल्लाका अन्य क्षेत्रमा पनि सामूहिक खेती गर्न सके यहाँ उत्पादित आलु बाहिर निर्यात गरेर आम्दानी बढाउन सकिने उनको भनाइ छ । किसान कान्छी गुरुङले एक्लैले काम गर्दा उत्पादन कम हुने भएकाले सामूहिक रूपमा काम थालिएको बताए । “सामूहिक हुँदा साथीसँग काम र रमाइलो गर्दै आम्दानी पनि लिन सजिलो हुन्छ”, उनले भने ।

मनाङमा उत्पादित आलुको माग ठूला सहरमा भइरहेको भन्दै गुरुङले मागअनुसारको उत्पादन हुन नसकेको बताए । सामूहिक खेती सुरु गरेसँगै मनग्य आम्दानी हुन थालेपछि कृषि पेसाबाट पनि आत्मनिर्भर हुन सकिन्छ भन्ने सन्देश आमनागरिकमा पुर्याउन सकिएको उनको भनाइ छ ।उनीहरूजस्तै यहाँका महिला आलुखेतीमा आकर्षित भएका छन् । मनाङ पर्यटकीय क्षेत्र भएकाले उत्पादित आलु यही खपत हुने किसान बताउँछन् । बाहिरको मागलाई पूर्ति गर्न नसकिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

हिउँद लागेसँगै जाडो छल्न काठमाडौं, पोखरालगायत सहर झरेका यहाँका किसान अहिले गाउँ फर्केर आलु रोप्नमा व्यस्त भएका नासो–५ का वडा सदस्य फूलमाया विकले बताए । “यस वर्ष समयमा नै हिउँ परेकाले जमिन गलेको छ । अहिले खेतीका लागि समय पनि उपयुक्त भएकाले अधिकांश खेतीपातीमा व्यस्त हुन थालेका हुन्”, उनले भने । गाउँ फर्किएर जौँ, गहुँ, आलु, उवा, करु, फापरलगायत खेती गर्न किसान व्यस्त हुन थालेका वडा सदस्य विकको भनाइ छ । नासोसँगै चामे गाउँपालिकामा आलु लगाउन भ्याइनभ्याइ भइरहेको उनले जानकारी दिए ।

वडा सदस्य विकले भने, “यस वर्ष समयमा नै हिउँ परेकाले कृषि पेसा गर्नेलाई सहज भएको छ । जमिन भिजेकाले सिँचाइको समस्या छैन । यतिबेला पालिकाभरिका किसान आलु रोप्न व्यस्त छन् ।” नासोका ओडार, तिल्चे, नाचै र ताचै, थोचे बढी आलु फल्ने क्षेत्र भएको नासो–५ का वडाध्यक्ष थुतेन लामाले बताए । कृषि ज्ञान केन्द्रका अधिकृत घनश्याम गैरेले किसानलाई बारीमै गएर आलु रोप्ने तरिका सिकाएको बताए । “कसरी आलु लगाउँदा बढी उत्पादन हुन्छ । मलको मात्रा, चिस्यानको अवस्था र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएका छौँ”, उनले भने ।

गैरेका अनुसार यहाँ बढी उत्पादन हुने खेतीलाई ज्ञान केन्द्रले पनि प्राथमिकता दिँदै आएको छ । पालिका र ज्ञान केन्द्रको समन्वयमा कृषकलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्न विभिन्न अनुदानको व्यवस्थासमेत गरिएको भन्दै यहाँका किसानलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ काम भइरहेको उनले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्