काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र मन्दीमा पुगेकाे पत्तै नपाएकाे आरोप लगाएका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै पौडेलले निवर्तमान अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा स्वीकार गर्न नचाहेको आरोप लगाए हुन् ।
पौडेलले ११ महिना अर्थमन्त्रालयमा काम गर्दा अर्थतन्त्रलाई लयमा ल्याउने काम गर्न नसकेको दाबी गरे ।
पछिल्लो एक वर्षमा मुलुकको अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको र अहिले पनि अर्थतन्त्रका कुनै पनि सूचक सकारात्मक नरहेको तर्क पौडेलको छ । पौडेलले आर्थिक वर्षका २ क्वाटरमा आर्थिक वृद्धिदर सकारात्मक नहुनु भनेको अर्थतन्त्र मन्दीमा जानुभएको दाबी समेत गरे ।
पूर्वअर्थमन्त्री पौडेलले निवर्तमान अर्थमन्त्रीले वास्तविक अर्थतन्त्रका आँकडालाई सच्याउँदै हिँडेको पनि आरोप लगाए । उनले मुलुकको अर्थतन्त्रको अवस्था आँकडा सच्याउने भन्दा पनि वर्तमान अवस्था सच्याउनु आवश्यक रहेको र लय बिगारेको अर्थतन्त्रलाई दुरुस्त छ भनेर दाबी गर्नु आपत्तिजनक रहेको टिप्पणी गरे ।
उनले बैंकहरुमा तरलता सहज हुँदा पनि उद्योगी व्यवसायीहरुले उद्योगमा थप लगानी र नयाँ लगानी गर्न नसकेको पनि बताए । बजारमा माग,आपूर्ति,उत्पादन र रोजगारी सरकारले सिर्जना गर्न नसक्दा चौतर्फि रुपमा अर्थतन्त्र समस्यामा आएको बताए ।
उनले अहिले निजी क्षेत्रले पुँजी परिचालनको लागि अनकुल वातावरण नहुँदा बैंकहरुमा तरलता थुप्रिएर बसेको बताए ।
उनले मन्दीमा रहेको अर्थतन्त्रलाई वर्तमान सरकार अर्थमन्त्रीले तत्काल समाधान गर्ने गरी काम गर्न आवश्यक रहेको बताए । निजी क्षेत्रलाई साथमा लिएर जायज मागलाई सम्बोधन गरी मनोबल उकास्न आवश्यक रहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्