राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ मा सर्वसाधारणहरु कच्चि पुलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । राप्तीको बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत हुन नसक्दा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।
कुसुमस्थित बासखोली–भवानियापुर जोड्ने उक्त झोलुङ्गे पुलमा २०७९ असोजमा आएको बाढीले क्षति पु¥याएको थियो । पुल क्षतिग्रस्त भएको डेढ वर्ष बितेपनि मर्मत हुन नसक्दा दुर्घटनाको जोखिम बढेको राप्ती सोनारी गाउँपालिका–१ का वडाध्यक्ष यमबहादुर खड्काले बताए । “बाढीले गर्दा झोलुङ्गे पुलका लठ्ठा चुँडिएका छन्, बाढीले बगाएको रुख पुलमै आएर अड्किएको छ, पुलका प्लेट पनि मान्छे खस्नेजस्ता भएका छन् । कुन दिन पुल नै खसेर ठूलो मानवीय क्षति हुने अवस्था छ ।”वडाध्यक्ष खड्काले भने ।
उक्त झोलुङ्गे पुल भएर राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ भवानियापुर, खुटी गाउँलगायत दाङको राजपुर गाउँपालिकाको भौवा, भैसाही तथा भारतबाट समेत ठूलो सङ्ख्यामा तीर्थयात्री आवतजावत गर्छन् । पुलमा बाढीले क्षति गरेपछि जोखिमपूर्ण अवस्थामा आवतजावत गर्नुपरिरहेको स्थानीय भरत बुढाथोकीले बताए । झोलुङ्गे पुलमा क्षति पुगेको डेढ वर्ष बितिसक्दा पनि अहिलेसम्म मर्मत गर्न बेवास्ता गरिएको उनको गुनासो छ । राप्ती सोनारी– १ राप्तीपारी भवानीयापुर गाउँका स्थानीय मोहनराज डाँगीले क्षतिग्रस्त झोलुङ्गे पुलको अवस्था अत्यन्त दयनीय रहेको र जुनसुकै बेलामा पनि पुल खस्ने अवस्थामा पुगेको बताए । पुल मर्मतका लागि राप्ती सोनारी गाउँपालिका–१ कार्यालयले गाउँपालिका कार्यालयदेखि विभागमा पटक–पटक पत्र पठाए पनि वास्ता नभएको वडाध्यक्ष खड्काले बताए ।
“क्षतिग्रस्त पुल मर्मत गरिदिन चार/पाँच पटक जति पत्र पठाइसकेँ, क्षतिग्रस्त पुल हेर्न सांसद आउनुभयो, गाउँपालिकाबाट पनि अध्यक्ष आएर हेर्नुभयो । दुई पटक झोलुङ्गे पुल शाखाका प्राविधिक आएर फर्के, यो वर्ष पनि मर्मत हुने छाँट छैन ।” वडाध्यक्ष खड्काले भने । राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे पुल निर्माणको लागि आफूले निरन्तर पहल गर्दै आएको बताए ।
प्रतिक्रिया दिनुहोस्