काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैचारिक विषयमा शंका र अविश्वास भएका कारण नेपाली काँग्रेससँगको गठबन्धन भत्काएको बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली काँग्रेस पार्टी र आफूहरुका बीचमा वैचारिक विषयमा शंका र अविश्वास भएका कारण गठबन्धन भत्काउनु परेको बताए ।
उनले आफ्नो प्रधानमन्त्री पद र समग्र सरकार कुनै समस्यामा नपरेको प्रष्ट पारे । उनले काँग्रेसको नेतृत्व र आफ्नाबीच व्यक्तिगत अविश्वास पनि केही नभएपनि व्यक्तिगत भन्दापनि राजनीतिक सम्बन्धका कारण अलग हुनुपरेको बताए । कोशी प्रदेश सरकारमा कांग्रेसको विद्रोही समूह गठबन्धनको मर्म विपरित लाग्दापनि कारबाही नभएको त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा पनि माओवादी केन्द्रमाथि अन्तर्घात गरिएको भन्दै त्यसमा पनि आफूहरुको असन्तुष्टि रहेको बताए ।
उनले काँग्रेस महासमिति बैठकले गठबन्धनको बिरुद्धमा निष्कर्ष निकाल्नु र हिन्दु धर्मको नाममा हस्ताक्षर चलाउनु नै गठबन्धन टुट्नुको कारण रहेको उल्लेख गरे । त्यसैगरी काँग्रेसले प्रतिवेदनमै जनयुद्धको विद्रुपीकरण गर्दै २०४७ सालको संविधान ठिक भएको आशय उल्लेख गरिनुपनि सम्बन्ध टुट्नुको कारण भएको बताए ।
उनले भने – ‘ नेपाली कांग्रेसको नेतृत्व र मेराबीच व्यक्तिगत अविश्वास केही पनि थिएन । टिकिरहनु मात्रैलाई स्थायित्व मान्ने हो भने त्यो स्थायित्वको समस्या पनि त्यहाँ थिएन । पछिल्लो ११ महिना लामो साथ र सहकार्यप्रति म विशेषत्ः नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवा र साथीहरुप्रति आभारी छु ।’
प्रधानमन्त्री दाहालले व्यक्तिका रुपमा काँग्रेसले आफूलाई माया गरेको भएपनि प्रधानमन्त्रीको रुपमा न्याय नगरेको बताए ।
प्रतिक्रिया दिनुहोस्